
प्रकाश नेपाल,
इलाम । इलामको चुरे क्षेत्रका दुई स्थानीय तहमा वर्षौदेखि बसोबास गरिरहेका ६ हजारभन्दा बढी घरपरिवारलाई सरकारले लालपुर्जा प्रदान गर्ने भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न इलामको माई नगरपालिका र माङ्सेबुङ्ग गाउँपालिकामा लालपुर्जा वितरण गर्न लागेको हो ।
इलाम जिल्लाको माई नगरपालिका र माङ्सेबुङ्ग गाउँपालिकामा रहेका ६ हजार पाँच सय परिवारलाई लालपुर्जा वितरण गरिने भएको छ । सरकारी जग्गामा वर्षौदेखि बसोबास गर्ने माई नगरपालिकामा ४ हजार एक सय १५ परिवार र माङ्सेबुङ्ग गाउँपालिकामा २ हजार ३ सय २० परिवारलाई लालपुर्जा प्रदान गरिने भएको हो । सरकारले सुकुम्बासी नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अगाडि बढाएसँगै इलामका छ हजार ५ सय १५ घरपरिवारले लालपुर्जा पाउने भएका हुन् ।
प्रक्रिया अघि बढेसँगै इलामको चुरे क्षेत्रमा वर्षौदेखि बसोबास गर्नेले चालु आर्थिक वर्षमै लालपुर्जा पाउने माई नगरपालिका प्रमुख दिपक थेवे बताउनु हुन्छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरण गर्नका लागि दुई स्थानीय तहसँग समझदारी पत्र हस्तान्तरण गरेको छ ।
त्यस क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आए पनि लालपुर्जा नभएकै कारण बैकिङ कारोबार गर्न नसकिएको स्थानीयको भनाइ छ । जिल्लाको माई नगरपालिकामा ४ हजार १ सय १५ घरपरिवार सुकुम्बासी रहेका छन् भने माङसेबुङ गाउँपालिकामा २ हजार ३ सय २० घरपरिवार सुकुम्बासी रहेको तथ्यांक छ । (भिडियो हेर्नुहोस्)
प्रतिक्रिया दिनुहोस्