
काठमाडौं । बालाजुमा कपडा काट्ने कैंचीले घोपेर एक जनाको हत्या गरिएको छ । गएराति बालाजु बाइपासको न्यु टप टेलर्समा काम गर्ने कलाम मियाँ र सुबोध शर्माबीच झगडा हुँदा शर्माले मियाँलाइ कैँचीले घोपेका थिए ।
पेटमा लागेका मियाँलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक मियाँ टेलर्स सञ्चालकका जेठा छोरा भएको प्रहरीको भनाइ छ । हत्यामा संलग्न शर्मालाई प्रहरीले बुधबार बिहान फर्पिङ्गबाट पक्राउ गरेको छ ।

हत्या अभियोगमा पक्राउ परेका शर्माका अनुसार झगडा हुँदा मियाँले रडले हान्न खोजेपछि आफूले बचाउको लागि प्रतिकार गर्दा घटना भएको बताएका छन् । स्थानीयका अनुसार रातको १० बजे रगताम्य अवस्थाका मियाँलाई उपचारका लागि शर्मासहितका दुई जनाले अस्पताल लगेका थिए ।
पुरानो रिसीइवीका कारण शर्माले मियाँमाथि आक्रमण गरेको हुन सक्ने प्रहरीको अनुमान छ । हत्या अभियोगमा पक्राउ परेका शर्मालाई आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त बालाजुमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्