१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


८ मेगावाट माग धान्ने संरचना नबन्दा स्थानीयलाई सास्ती, ४ वर्षसम्म बनेन स्टेशन


0
Shares

राजेश जिसी
प्यूठान । प्यूठानको प्यूठान नगरपालिका दम्तीमा विद्युत सवपावर स्टेशन निमार्ण थालेको ४ वर्ष हुँदा पनि निमार्ण कार्य सम्पन्न भएको छैन । सव पावर स्टेशन बन्ने भयो भनेर उत्साहित भएका प्यूठानवासी निमार्ण कार्य सुस्त हुँदा निराश बनेका छन् ।

नियमित विद्युत आपूर्तिमा समस्या भएको भन्दै नेपाल विद्युत प्राधिकरणले प्यूठान नगरपालिका–८, दम्तीमा सबस्टेशन निर्माण कार्य शुरु गर्यो । नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले सवपावर स्टेशन निर्माणका लागि आरके इन्टरनेशनलाई ७ करोड ५० लाखमा जिम्मा लियो । यस्तै, प्रसारण लाइन विस्तारको ठेक्का त्रिपुरेश्वर–जयदुर्गा जेभीलाई ५ करोड ३३ लाख रुपैयाँमा दियो ।

तर, पावर स्टेशन निर्माणको काम अन्तिम चरणमा पुगे पनि सबस्टेशनसम्म ३३ केभीको प्रसारण लाइन विस्तार नहुँदा आयोजना सञ्चालनमा आउन नसकेको आयोजनाका इन्जिनियर ज्ञान बहादुर फर्सालले जानकारी दिनुभयो ।

जिल्लामा विद्युत आपूर्तिमा समस्या हुँदा स्थानीयसहित उद्योग सञ्चालनमा समस्या भइरहेको व्यवसायीको गुनासो छ । जिल्लामै १२ मेगावाटको झिमरुक जलविद्युत आयोजना सञ्चालन भए पनि छिनछिनमै बिजुली आउने र जाने गर्दा समस्या भएको हो । विद्युत आउने जाने गर्दा मेसिन औजारमा समस्या तथा व्यापार, व्यवसाय चौपट भएको उद्योग बाणिज्य संघ प्यूठानका अध्यक्ष केदारमान कक्षपतिको भनाइ छ ।

राष्ट्रिय प्रसारण लाइन लमहीमार्फत झिमरुक जलविद्युतमा विद्युत आएपछि मात्रै प्यूठान, रोल्पा र अर्घाखाँचीमा विद्युत वितरण हुन्छ । तर, केन्द्रीय प्रसारणमै समस्या भएका कारण विद्युत पठाउन सकिएको छैन । प्यूठानको खलंगा हुँदै अर्घाखाँचीसम्म पुर्याइएको लाइनमा पटक–पटक समस्या आउने गरेको छ । अर्घाखाँचीमा ब्रेकर फेर्दा समेत ट्रिप हुँदा विद्युत प्रसारणमा समस्या आउने गरेको हो ।

प्यूठान नगरपालिका– ८ मा निर्माण भइरहेको सव पावर स्टेशन छिटो सञ्चालन गर्न भन्दै जिल्लाका सरोकारवाला निकायले प्रमुख जिल्ला अधिकारी खिमराज भुसाललाई ध्यानाकर्षण गराएका छन् । सव पावर स्टेशन सञ्चालनका लागि निर्माण कम्पनीलाई ताकेता गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुषाल बताउनु हुन्छ ।

प्यूठान र रोल्पामा पिक आवरमा ५ मेगावट र अर्घाखाँचीमा ३ मेगावट विद्युत् खपत हुने गरेको छ । प्यूठानसहितका जिल्लामा हुने गरेको विद्युत अनियमितता रोक्न र यो सब पावर स्टेशन सञ्चालन गर्न नेपाल सरकार, विद्युत प्राधिकरण लगायतका सबै निकायले चासो दिनु आवश्यक देखिन्छ ।