
दिपेन्द्र अधिकारी (इमेज)
काठमाडौं । गत सोमबार काठमाडौंको वायु प्रदूषण विश्वमै पहिलो नम्बरमा पुग्यो । स्वीटजरल्याण्डमा मुख्यालय रहेको एक्युएअरले काठमाडौंको एक्युआई अर्थात एअर कन्डिसन इन्डेक्स ४८७ पुगेको देखायो ।
काठमाडौं नम्बर १ मा पुगेको मात्रै होइन, दोस्रो स्थानमा रहेको कीर्गिस्तानको भिश्केकको प्रदुषण भन्दा काठमाडौंको प्रदुषण झण्डै दोब्बर थियो । त्यतिबेला भिश्केकमा एक्युआई २९६ रहेको थियो । अहिले काठमाडौं उपत्यकामा दिउँसै कुहिरो लागेजस्तो देखिन्छ । वातावरणविजद्का अनुसार यो कुहिरो नभइ उपत्यकामा फैलिएको धुवाँ र धुलोका कणको तह हो ।
मन्त्रिपरिषद् बैठकले ३ माघ २०७६ मा पारित गरेको एक कार्ययोजनामा स्पष्ट रूपमा वायु प्रद्ुषणको स्तर ३०० एक्युआई नाघेपछि विपदकाल घोषणा गर्ने भनिएको छ । तर, वातावरण मन्त्रालयकै तथ्यांकले एक्युआई ४०० नाघेको देखाउँदा पनि सरकार भने मौन रह्यो । कर्मचारीतन्त्र इमान्दार नहुँदा वातावरण सम्बन्धी नीतिनियम कार्यान्वयन हुन नसकेको पूर्वप्रशासक डा सुधा शर्मा बताउनुहुन्छ ।
जाडो मौसम वायुप्रदुषण उच्च हुने समय हो । आजको अवस्थामा सुधार आए पनि जोखिम भने कायमै छ । वातावरण तथा वायुप्रदुषण नियन्त्रण लिन सरकार आफैँले पारित गरेको राष्ट्रिय वातावरण नीति २०७६ कार्ययोजना समेत कार्यान्वयन गर्न असक्षम बनिरहेको छ । सो नीति कार्यान्वयनमा आएको खण्डमा पनि वायुमण्डल स्वच्छ हुनसक्छ ।
उपत्यकाको भौगोलिक बनावट कचौरा आकारका भएकाले काठमाडौंमा वायुप्रदुषणको जोखिम उच्च छ । वर्षा नहुँदा उपत्यकाको वायुमण्डलमा धुलोका कणको मात्रा अधिक छ । वायुप्रदुषणले श्वासप्रश्वासको समस्या देखिनु सामान्य नै हुन्छ । तर, अत्याधिक प्रदुषित वायुले सामान्य मानिसमा समेत क्यान्सरसम्मको जोखिम रहने श्वासप्रश्वास रोग विशेषज्ञ डा. अशेष ढुंगानाको भनाइ छ ।
यसरी सारा संसारलाई उछिन्ने गरी वायु प्रदुषण बढ्नुमा नीतिगत तहमा बस्ने तालुकदारको अटेरीपन त जिम्मेवार त छँदै छ, आम नागरिक पनि उत्तिकै जिम्मेवार रहने वातावरणविद्को मत छ ।
भिडियो हेर्नुहोस्
भिडियो : योगेश लामा
प्रतिक्रिया दिनुहोस्