
काठमाडौं । अमेरिकी संसदमा भएको हिंसक प्रदर्शनको नेपालको राष्ट्रिय सभामा पनि चर्चा भएको छ । शून्य समयमा नेपाल कम्युनिष्ट पार्टीकी सांसद् कोमल ओलीले अमेरिकी संसदमाथि भएको आक्रमणको विरोध गर्नुभएको छ ।
सांसद् ओलीले चारजनाको ज्यान जानेगरी वासिङ्टन डिसीमा भएको दंगा र हिंसाले संसदीय व्यवस्थालाई सर्वोपरी ठान्ने सबै देशलाई थप चुनौती र चिन्तित बनाइदिएको बताउनुभयो ।
अमेरिकी संसदमा भएको घटनाले विश्वमै प्रजातन्त्रमाथि खतरा उत्पन्न गराएको सांसद ओलीको तर्क छ । सत्ताको शान्तिपूर्ण हस्तान्तरणलाई गैह्रकानुनी विरोधले लोकतान्त्रिक प्रक्रियामा चुनौती खडा भएको छ उहाँको भनाइ छ ।
बुधबार दिउँसो अमेरिकी संसद बाहिर ट्रम्पसमर्थक प्रदर्शनकारीहरूले आक्रमण गर्दै तोडफोडसमेत गरेका थिए । उनीहरू संसदभित्र गएर समेत तोडफोड गरेका थिए । उनीहरूले बन्दुक समेत बोकेर प्रदर्शन गरेको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार स्वीकार गरेर नवनिर्वाचित राष्ट्रपति जो बाइडनलाई सत्ता हस्तान्तरण गर्नुको सट्टा आफ्ना समर्थकलाई संसद् अगाडि प्रदर्शन गर्न आह्वान गरेका थिए । उनले लगातार अमेरिकी निर्वानलाई विवादित भन्दै फेसबुक र ट्वीटर पोस्ट गरेपछि कम्पनीहरूले उनको सामाजिक सञ्जाल केही समयका पोस्ट गर्न प्रतिबन्ध लगाएको छ ।
प्रतिक्रिया दिनुहोस्