
दीपक श्रेष्ठ
काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको नयाँ सवारी चालकको अनुमतिपत्र गत पुस १४ गते बाट अनलाइन मार्फत सातवटै प्रदेशमा खुला गरिएको छ ।
आवेदन खुलेसँगै नयाँ सवारी चालक अनुमति पत्र लिने पर्खाइमा रहेका सेवाग्राहीले एकै पटक आवेदनको लागि अनलाइन फारम भरेकाले सर्भर डाउन भएको छ । जसका कारण सेवाग्राही समस्यामा परेका छन् ।
यातायात व्यवस्था विभागका अनुसार लामो समय पछि आवेदन खुलेका कारण चाप बढेकाले सर्भरमा समस्या आएको हो । अनलाइन मार्फत फारम भर्न सहज बनाउने काम भइरहेको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताउनुभयो । विभागले दश महिनापछि पुस १९ गतेबाट बागमती प्रदेशमा चालक अनुमति पत्रका लागि प्रयोगात्मक परीक्षा खुला गरेको थियो ।
यातायात व्यवस्था कार्यालय ठूलो भर्याङले हाल दैनिक साना ठूला गरी ३ सय ६५ जनाले मात्र अनलाइन फारम भर्ने व्यवस्था मिलाएको र एप मार्फत दैनिक करिब १ हजार वटा तयारी लाइसेन्स वितरण गर्ने गरेको प्रमुख सञ्जय थापाले जानकारी दिनुभयो ।
सर्भर डाउनका कारण अनलाइनबाट फारम भर्न समस्या भएपछि बिचौलियाहरूले भने तोकिएको भन्दा बढी मूल्यमा फारम भर्ने गरेको सेवाग्राहीको गुनासो छ ।
यातायात व्यवस्था कार्यालयले सर्भरमा देखिएको समस्या तत्काल समाधान गरी चालक अनुमति पत्रको अनलाइन फारमलाई व्यवस्थित र सहज बनाउँदै लैजना प्रतिबद्धता जनाएको छ ।
क्यामरा– राममान डंगोल
प्रतिक्रिया दिनुहोस्