१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा बर्डफ्लू बढ्दो, नेपालमा उच्च सतर्कता सातवटै सीमा नाकालाई निर्देशन


0
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्रालयले बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भारतका विभिन्न स्थानमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएसँगै विशेषगरी तराई क्षेत्रमा उच्च सतर्कता आपनाउन मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयले मातहतका सातवटा सीमा नाका कार्यालयलाई पत्रमार्फत उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरे कुखुराजन्य वस्तुको आयातमा रोक लगाउँदै उच्च सतर्कता अपनाउन नाकामा रहेका क्वारेन्टिन कार्यालयलाई निर्देशन दिइएको बताउनुभयो ।

भारतको हिमाञ्चल प्रदेशबाट बर्डफ्लू भित्रने सम्भावना उच्च रहेको भन्दै सङ्क्रमणलाई ध्यानमा राख्दै केही समय हिमाञ्चलसँगै भारतबाट भित्रिने कुखुराजन्य प्रजातिका वस्तुको आयातमा रोक लगाइएको बताउनुभयो ।

मन्त्रालयले काँकडभिट्टा, वीरगञ्ज, भैरहवा, कृष्णनगर, नेपालगञ्ज, कैलाली तथा गड्डाचौकी नाका , प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन र आवश्यक परे प्राविधिक तथा अन्य स्रोत साधनको प्रयोग र थप जनशक्ति माग गर्न विशेष निर्देशन दिएको हो ।

मन्त्रालयले नेपालमा बर्डफ्लू सङ्क्रमण भित्रन नदिन केही समय कुखुरा आयातमा रोक लगाइएको जनाउँदै व्यवसायीलाई समेत सतर्कता अपनाउन आग्रह गरेको छ । भारतको मध्य प्रदेश, केरला, राजस्थान र हिमाञ्चल प्रदेशमा बर्डफ्लू पुष्टि भएको छ ।