
एजेन्सी । पराजय अस्वीकार्दै निर्वाचन परिणाम उल्ट्याउन गरेका सारा प्रपञ्च विफल भएपछि अन्ततः अमेरिकी राष्ट्रपति पदका पराजित उम्मेदवार डोनल्ड ट्रम्पले निर्धारित मितिमा सत्ता सुम्पने कबुल गर्नुभएको छ ।
अमेरिकी संसदसमेतले डेमोक्र्याट उम्मेदवार जो बाइडेनलाई ४६ औं राष्ट्रपतिका रुपमा सत्ता सम्हाल्न औपचारिक अनुमति प्रदान गरेपछि ट्रम्पले बल्ल निर्धारित मिति जनवरी २० मा बाइडनलाई सत्ता सुम्पने बताउनुभएको हो ।
संसदले परिणाम प्रमाणित गर्ने दिन आफ्नो हिंस्रक समर्थकको दस्ता उतारेर संसद भवन नै कब्जा गर्ने प्रयास विफल भएपछि एक विज्ञप्ति जारी गर्दै ट्रम्पले २० जनवरीमा शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने कबुल गर्नुभएको हो ।
यद्यपि उहाँले निर्वाचनमा भएको धाँधलीको बारेमा भने आफ्नो भनाइलाई कायमै राख्नुभएको छ । चौतर्फी रुपमा पराजीत भइसकेर पनि हार अस्वीकार गर्दै प्रवक्ताको ट्वीटर ह्याण्डलबाट निकालेको विज्ञप्तिमा ट्रम्पले भन्नुभएको छ, ‘निर्वाचनको नतिजाबाट म पूर्णरूपमा असहमत छु । यो कुराको प्रमाण पनि छ । त्यसको बावजुद २० जनवरीमा व्यवस्थित तरिकाले सत्ता हस्तान्तरण हुनेछ ।’

ट्वीटरमा अमेरिकी निर्वाचनका बारेमा हिंसा फैलाउने अभिव्यक्ती दिएको भन्दै उहाँको ट्वीटर ह्याण्डल १२ घण्टाको लागि प्रतिबन्ध गरिएको छ ।
उहाँले अगाडि भन्नुभएको छ, ‘वैध मतको मात्र गणना हुनको लागि हामी आफ्नो लडाईं जारी राख्छौं । अमेरिकी राष्ट्रपतिको इतिहासमा यसको साथमा सबैभन्दा महान पहिलो कार्यकालको अन्त्य हुनेछ, तर अमेरिकालाई दोश्रोपटक महान बनाउनका लागि हाम्रो लडाईंको यो त सुरुवात मात्र हो ।’
ट्रम्पको चुनावी टीमले नोभेम्बरमा भएको चुनावको नतिजाप्रति असन्तुष्टि जनाउँदै ६० भन्दा बढी स्थानमा रिट दर्ता गरेपनि त्यसलाई खारेज गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्