१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कमल फूल हिलोमा नै फूल्ने हो मेयरसाप ! जैविक हिलो संरक्षण गरौं


26
Shares

नरेन्द्र मानन्धर (इमेज)
काठमाडौं । सिमसार क्षेत्र जैविक विविधताको लागि महत्वपूर्ण रहेको छ । सिमसार विना प्राकृतिक जीवन व्यर्थ छ । तर, काठमाडौं महानगरपालिका वडा नं १ मा रहेको सिमसार क्षेत्र कमल पोखरी जनप्रतिनिधिहरूको गलत निर्णयका कारण सौन्दयकरणको नाममा संकटमा परेको छ ।

यो राष्ट्रिय धरोहरको रूपमा रहेको सिमसार क्षेत्र कमल पोखरी अतिक्रमणमा परेपछि वि.सं. ३४ सालमा अतिक्रमित क्षेत्र फिर्ता गर्न नापी विभागले सिफारिस गरेको थियो । तर, फिर्ता हुनुको साटो निरन्तर अतिक्रमणको चपेटामा पर्दै आएको छ ।

केही वर्ष अगाडी सम्म ढकमक कमल फुल्ने सिमसारमा अहिले पानी सुकाए पछि घामले सुकेका माछा मात्र देख्न पाइन्छ । कारण सिमसार सुकाएर पोखरीको बीचमा कंक्रिटको कमल फूल फूलाउने योजना लागू गरिएपछि प्राकृतिक स्वरूप नै बिगार्ने गरी पोखरी पुनः निमार्ण गर्न महानगरपालिकाले ठेक्का दिएको छ भने अहिले ठेकेदारले पोखरीको पानी सुकाएका छन् । यहाँबाट कमल फूल्ने जैविक हिलो समेत निकाल्ने प्रयास भइरहेको छ ।

जसका कारण प्राकृतिक जैविक र जल प्रणालीमा गम्भीर असर पुगेको छ । परम्परागत हिटी तथा पोखरी संरक्षण विज्ञ सुशील श्रेष्ठले यसलाई तत्काल रोक्नु पर्ने बताउनुहुन्छ । कमलको फूल हिलोकोे दलदलमा नै फूल्ने हो, हिलो नै निकालेर कस्तो किसिमको संरक्षण गर्न खोजेको हो महानगरपालिकाले ? उहाँको प्रश्न छ ।

हुन पनि सिमसार प्रकृतिको बरदान नै हो । यही बरदानलाई सदुपयोग गर्दै पुर्खाले प्राकृतिक सन्तुलन मिलाएर पानीको आपूर्ति गरेका थिए । जसको परिणाम थियो त्यस क्षेत्रको तीनधारा र हातिसारमा प्राप्त हिटीहरु । सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धी तुलाधर व्युटीफीकेशनको नाममा जैविक र जल प्रणाली नै असर पुग्ने गरी पोखरीमा कंक्रिटको संरचना निमार्ण गर्न नहुने बताउनुहुन्छ ।

कमल फूल्ने महत्वपूर्ण जैविक हिलो बचाउनु नै अहिलेको प्राथमिकता हुनु पर्ने तुलाधरको सुझाव छ । पोखरीको अतिक्रमित क्षेत्र फिर्ता लिएर मात्र सिमसार संरक्षण गर्नुपर्ने उहाँको जोड छ । आवश्यक परे संघर्ष नै गर्ने चेतावनी उहाँले दिनुभएको छ ।

ललितपुरको कुमारीपाटी देखि जावलाखेल सम्म सिमसार क्षेत्र नै थियो तर अहिले मासिइसकेको छ । यो नियती कमल पोखरीमा कदापी दोहरिनु हुँदैन । हजारौ वर्ष देखि रहेको प्रकृतिको बरदानलाई जुनसुकै हालतमा बचाउनुपर्ने स्थानीयको माग छ । मेयर र जनप्रतिनिधिहरुले भएका गल्ती कमीकमजोरीलाई सच्याएर अगाडी बढ्ने हो कि ?

भिडियो हेर्नुहोस्

भिडियो : रक्षा बज्राचार्य