
काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी जानु हुँदैछ । ओली समूहको नेकपा सुदूरपश्चिम प्रदेशले धनगढीमा राखेको सभालाई सम्बोधन गर्न ओली धनगढी जान लाग्नुभएो हो । ओली समूहले आज धनगढीमा विशाल जनसभा गर्दैछ ।
पार्टी विभाजन पछि पहिलो पटक ओली राजधानी बाहिर जान लाग्नु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । यसअघि राजधानीमा भएको विभिन्न कार्याकर्ता भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नु भएको थियो ।
धनगढीमा हुने जनसभामा ५० हजार जनता उतार्ने नेकपा सुदूरपश्चिम (ओली समूह) को तयारी छ । जनसभा सफल पार्न संघीय सरकारका चार जना मन्त्रीहरु केही दिन अघि देखि नै धनगढीमा खटिएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना जनसभाको तयारीका लागि खटिएका हुन् ।
प्रधानमन्त्री सहभागी हुने कार्यक्रमको सुरक्षाका लागि धनगढीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । पार्टी विभाजनपछि सुदूरपश्चिममा ओली समूह कमजोर छ । नेकपाका ३९ जना सांसद मध्ये ओली समूहमा ७ जना मात्रै छन् ।
बुधबार सुदूरपश्चिम प्रदेश कमिटिले कमिटि विस्तार गर्दै आज सभा गर्ने निर्णय गरेको थियो । सो बैठकले ३० लाख हिनाममिना गरेको भन्दै नेकपा नेता भीम रावलालाई कारवाहीको सिफरिस पनि गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्