
एजेन्सी । भारतको छत्तीसगढमा भएको एक विवाहको चर्चा अहिले भारतभर छ । टिकरा लोहंगा गाउँमा स्थानीय चन्दु माैर्यले एउटै मण्डपमा, एकैपटक, दुई युवतीसँग विवाह गर्नुभएको छ । चारदिनसम्म चलेको विवाह गत शनिबार सम्पन्न भएको थियो ।
मुरिया जनजातिका चन्दु भन्नुहुन्छ, ‘मैले दुवैलाई प्रेम गरेको थिएँ, कसैलाई पनि धोका दिन मन लागेन । मनमा अलि दुविधा भए पनि दुवै प्रेमिका विवाहको लागि तयार भए ।’ उनकी पत्नी सुन्दरी कश्यप र हसीना बघेल पनि विवाह हुँदा एकदमै खुसी छन् ।
सुन्दरी भन्नुहुन्छ, ‘म उहाँलाई मन पराउँथे र उहाँसँगै जीवन बिताउन चाहान्थेँ । पछि हसीना आइन् । उनी पनि चन्दुसँगै बस्न चाहन्थिन् । मलाई त कुनै पनि समस्या छैन । पछि विवाहको कुरा भयो र हामी दुवै चन्दुको श्रीमती बन्यौं ।’
९ कक्षा पास गरेका २४ वर्षीय चन्दु खेतीकिसानी गर्छन् । खेतीकाे अलावा उनी वनकाे काठ र दाउरा बजार लगेर बेच्ने गर्छन् ।
तोकापालको एरन्डवाला गाउँमा एक कामको सिलसिलामा जाँदा तीन वर्ष अघि चन्दुको भेट सुन्दरीसँग भएको थियो । पहिलो भेटमा नै दश कक्षा पास गरेकी सुन्दरीले चन्दुलाई प्रेमप्रस्ताव राखेकाे चन्दु बताउनुहुन्छ । चन्दु आफ्नो गाउँ फर्किएपछि उनीहरूको मोबाइलमार्फत कुराकानी हुने गर्थ्यो ।
सुन्दरीसँगकै प्रेम चलिरहेकै बेला चन्दुले आफ्नै गाउँमा नयाँ युवती देख्नुभयाे । ती युवती २० वर्षकी हसीना बघेल हुनुहुन्थ्याे । करन्जी गाउँकी ९ कक्षा पास गरेकी हसीना टिकरा गाउँमा एक विवाह समारोहमा सहभागी हुन पुग्नुभएकाे थियाे । त्यहाँ सामान्य भेट भएका उनीहरुको मोबाइल नम्बर साटासाट गरे । कुराकानीको क्रम बढ्दै गएपछि प्रेम बसेको थियो ।
चन्दुले हसीना र सुन्दरी एक अर्काकाे बारेमा बताउनुभएकाे थियाे । चन्दुका अनुसार उहाँले हसीना र सुन्दरीलाई भेटाउनुभयाे । त्यसपछि तीनैजनााकाे एक महिनासम्म एकआपसमा कुरा हुन थाल्याे ।
केही समय पछि हसीना आफ्नो गाउँ छोडेर चन्दुसँग बस्न आइन् । छत्तीसगढमा यो समान्य प्रक्रिया हो । केही सामान्य विधि पुरा गरेपछि युवा–युवती सँगै बस्न पाउने त्यहाँकाे परम्परा छ ।
हसीना चन्दुको घर आएको थाहा पाएपछि सुन्दरी पनि चन्दुको घरमा आउनुभएकाे थियाे । तर, सुन्दरीको परिवारले पछि उनलाई आफ्नै गाउँ फर्काएर लगेका थिए । तर पछि सुन्दरी भागेर चन्दुकहाँ जानुभयाे । यसपटक भने परिवार आएनन् र सुन्दरी चन्दु र हसीनासँगै बस्न थाल्नुभयाे । आफूहरू बस्न थालेको एक वर्षपछि घरपरिवारले पनि विवाह गर्न सुझाव दिए ।

एक वर्षको अवधिमा सुन्दरी र हसीनाले चन्दुसँग मिलेर बस्न सहमत भइसकेका थिए । त्यसपछि विवाहको लागि कार्ड छापियो । कार्डमा एकजना दुलाहा र दुई जना दुलहीको नाम थियो । विवाह हिन्दुसंस्कार अनुसार विधि पूरा गरेर गरिएकाे थियाे । विवाहमा हसीनाको परिवार सामेल भए पनि सुन्दरीको परिवार भने सहभागी थिएन ।
विवाहपछि सुन्दरी भन्नुहुन्छ, ‘विवाहबाट म एकदमै खुसी छु, हसीना र मैले घरको काम मिलेर गर्छौं, कुनै कुरामा पनि विवाद हुँदैन ।’
विवाह सम्पन् भएपछि उनीहरुकाे विवाहले कानूनी मान्यता पाउँछ वा पाउँदैन भन्ने विषयामा अनेक टिकाटिप्पणी सुरु भएकाे छ । भारतकाे कानूनले उनीहरुकाे विवाहलाई कानुनी मान्यता दिने अधिवक्ताहरु बताउँछन् । जनजातीहरुकाे आफ्नै परम्परा हुने र उक्त परम्परालाई कानूनकाे मान्यता दिइएकाले उनीहरुलाई कानूनबमाेजिम कारबाही हुनेछैन ।
प्रतिक्रिया दिनुहोस्