
काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले शुक्रबार उल्टो हिँडेर प्रतिनिधिसभा विघटनको विरोध गरेको छ ।
नेविसंघका नेता तथा कार्यकर्ताहरु काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वर सम्म उल्टो हिँडेर प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमको विरोध गरेका हुन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा नाराबाजी समेत गरेका थिए ।
नेविसंघका नेता–कार्यकर्ताले प्रधानमन्त्री ओलीले संविधान मिचेर उल्टो बाटोमा हिँडेको भन्दै उल्टो हिँडेर सांकेतिक रूपमा विरोध गरेका हुन् ।

पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि त्यसको विरोधमा पछिल्लो समय देशभर प्रदर्शन भइरहेको छ ।
संसद विघटनका बिरुद्ध सडक आन्दोलनमा जाने निष्कर्ष निकालेको नेपाली कांग्रेसले शनिबार ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रबाट एकसाथ सो कदमको विरोध गर्दैछ । त्यसैको पूर्व तयारी स्वरुप नेविसंघले विरोध प्रदर्शन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्