
सुरेन्द्र भण्डारी
झापा । भारतको पश्चिम बंगाल र विहार राज्यसँग खुल्ला सीमा जोडिएको झापा सुरक्षा चुनौतीका दृष्टिले संवेदनशील बन्दै गएको छ । अझ प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला भएका कारण पनि पछिल्लो समय शान्ति सुरक्षाको दृष्टिकोणले यस जिल्लालाई प्रहरीले उच्च प्राथमिकतामा राखेको छ ।
खुल्ला सिमाना भएका कारण अपराधिक गतिविधि बढी नै हुने गरेको यस जिल्लाको सुरक्षा चुनौती अन्यत्रको भन्दा बढी नै छ । त्यसो त पछिल्लो समय झापाको सुरक्षा चुनौतीलाई चिर्दै समग्र झापामै सद्भाव र शान्ति सुरक्षा कायम गरेको भन्दै प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला र प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाल भने नागरिक स्तरबाटै सम्मानित हुँदा उनीहरूको दायित्वबोध झनै बढ्दै गएको छ ।
महामारीका रूपमा फैलिएको कोभिड–१९ को बढ्दो संक्रमण रोक्न र समाजमा हुने सबैखाले आपराधिक गतिविधिलाई निरुत्साहित पार्न प्रविधिको उच्चतम प्रयोग गर्न प्रहरीले झापाका बस्ती बस्तीमा सचेतना अभियान चलाएको छ । कोरोना महामारीको चुनौती एकातिर र अर्कोतिर बढ्दो अपराधिक गतिविधि नियन्त्रण गर्नु कम चुनौतिपूर्ण छैन ? तर पनि नागरिकको साथ र सहयोगकै कारण समाजमा शान्ति सुव्यवस्था र चेतना बिस्तार गर्न सफल भएको झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।
त्यसो त खुल्ला सिमानामा हुने अपराधिक गतिविधि नियन्त्रण गर्नकोलागि संवेदनशील जिल्लामा सरकारले छुट्टै रणनीति अपनाउनु पर्ने देखिन्छ । सीमित स्रोत र साधनकाबीच खुल्ला सिमानामा हुने अपराधिक लगायतका गतिविधि नियन्त्रण गर्न प्रहरीलाई चुनौती बढेको छ । यस्तो समयमा सरकारले पनि यसमा केहि तदारुकता देखाउनै पर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्