१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुन आयात गर्दा कोटा बढाउन व्यवसायीको माग


0
Shares

काठमाडौं । रत्न तथा आभुषण व्यवसायीले सरकारले सुन आयात गर्दा कोटा बढाउनुपर्ने माग गरेका छन् ।

नेपाल रत्न तथा आभुषण संघको १६औँ वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनमा व्यवसायीहरूले सरकारले न्यून कोटा निर्धारण गर्दा भनेजत्ति सुन आयात गर्न नपाउने भन्दै कोटा बढाउन माग गरेका हुन् ।

संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले सरकारले सुन आयात गर्दा कोटा बढाएर निर्धारण गरे व्यवसायीले सिजनमा सुनको अभाव खेप्नु नपर्ने बताउनुभयो । सुनको मूल्य निर्धारण तथा सुन परीक्षणका लागि ल्याबको स्थापना गर्नुपर्ने भन्दै उहाँले नेपाली गहना प्रवद्र्धन, निर्यात तथा बजारीकरणका लागि सरकारी सहयोग आवश्यक रहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले तीनै तहका सरकारमा परियोजना बनाउनभन्दा पनि लामो समय कानुनी प्रक्रिया मिलाउनै लाग्ने भएकाले सहजीकरण आवश्यक रहेको बताउनुभयो ।

वाणिज्य सचिव वैकुण्ठ अर्यालले सरकारी स्तरबाटै सुनचाँदी परीक्षणको लागि ल्याबको व्यवस्थापन, बजारीकरण तथा नेपाली गहना प्रदर्शनका लागि अन्तराष्ट्रिय स्तरका एक्स्पोमा नेपालीको सहभागीता बढाउने तथा एक्पोर्ट हाउस निर्माणको लागि काम भइरहेको जानकारी दिनुभयो ।

संघको शनिबार भएको निर्वाचनमा ज्योत्सना श्रेष्ठ अध्यक्ष निर्विरोध निर्वाचित हुनभएको छ भने प्रथम उपाध्यक्षमा नरेन्द्र कुमार गुप्ता र द्धितिय उपाध्यक्षमा शक्ति कुमार देवानी निर्वाचित हुनुभएको छ । संघमा २ जना मनोनित सदस्य गरि १९ जना कार्यसमिति रहने छ ।