१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


राप्रपामा अन्योल : तयारीमा चुनाव कि महाधिवेशन ? (भिडियो)


0
Shares

रोमन आचार्य
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) को आगामी वैशाख २८ मा हुने भनिएको एकता महाधिवेशन नहुने सम्भावना बढेको छ । वैशाखका लागि घोषणा भएको मध्यावधि निर्वाचनका कारण राप्रपाको प्राथामिकता परिवर्तन भएको छ । निर्वाचनलाई शक्ति पुनःस्थापनाको सेतु बनाउने तयारीमा लाग्दा पार्टीभित्र महाधिवेशनको विषय सेलाएको छ ।

कार्यतालिकाअनुसार काम हुने हो भने राप्रपालाई एकता महाधिवेशन गर्न करिव पाँच महिना बाँकी छ । तर, पार्टी मध्यावधि चुनावको तयारीमा जुटेसँगै तोकिएको समयमा महाधिवेशन लगभग अनिश्चित छ । सक्रिय सदस्यता वितरण फागुन दोस्रो साता वितरण सम्पन्न हुनेमा पार्टीका नेताहरु नै ढुक्क छैनन् ।

३ लाख सक्रिय सदस्य पु¥याएर महाधिवेशन गराउने पार्टीको योजना छ । यता, सर्वोच्चमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दाले पनि महाधिवेशनको अन्योल झनै बढाएको छ । संसद पुनःस्थापना भए महाधिवेशन गर्ने, त्यसो हुन नसके निर्वाचनमा जुट्ने राप्रपाको योजना छ ।

प्रतिनिधिसभा विघटन भएको भोलिपल्ट बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष कमल थापाले राप्रपालाई वैकल्पिक शक्ति बन्न मध्यावधि निर्वाचन कोसेढुङ्गा हुने बताउनुभएको थियो । उहाँको यो भनाइले नै पार्टी निर्वाचनको तयारीमा जुटेको बुझ्न सकिन्छ । चुनाव हुने अवस्था आए महाधिवेशनलाई पर धकेलेर राप्रपाले पार्टीको जनतामाझ घुमिल भएको छवि सुधार गर्न मेहनत पक्कै गर्नेछ ।

पार्टीको पुस ६ र ७ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एकता महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो । तर, हालसम्म पार्टी समायोजनले नै पूर्णता पाउन सकेको छैन ।

जुट्ने फुट्ने, फेरी जुट्ने अनि फुट्ने, पूर्वपञ्चहरूको ट्याग पाएको राप्रपालाइ नौलो विषय होइन । वैचारिक विचलन र स्वार्थगत ध्रुवीकरण यो पार्टीको मुख्य समस्या हो । हिन्दुराज्य तथा राजसंस्थासहितको वैकल्पिक शक्ति बन्ने विचारमा एकमत भएर गत फागुनमा एकजुट भएको पार्टी फेरि दुर्घटना उन्मुख नहुने हो भने समयमै महाधिवेशन गरेर जनतामाझ जानु उत्तम हुनसक्छ । क्यामरा– भरत केसी