२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


जिल्लामै शीतभण्डार बन्ने भएपछि पाल्पाका किसान उत्साहित


0
Shares

भरत शर्मा
पाल्पा । पाल्पामा रामपुर नगरपालिकाले कृषि उपज भण्डारणका लागि शीतभण्डारको निर्माण गरेको छ । पाल्पा जिल्लाको पूर्वी भेगका कृषकद्वारा उत्पादित आलु, टमाटर, सुन्तला जस्ता वस्तु भण्डारण गरी कृषकलाई व्यावसायिक खेतीतर्फ आर्कषण गराउने उद्देश्यले शीतभण्डारको निर्माण गरिएको हो ।

जिल्लाका रामपुरफाँट, सहलकोट, गाडाकोट लगायतका ठाउँमा राम्रो कृषि उत्पादन हुने गर्दछ । स्थानीय सरकारले शीत भण्डार निर्माण भएपछि एक वडा, एक उत्पादनको कार्यक्रम बनाएर कार्यान्वयन गर्ने भएको छ ।

३ सय मेट्रिक टन क्षमता भएको शीतभण्डार ३ करोड ५२ लाख रुपैयाँको लागतमा आगामी माघदेखि सञ्चालनमा आउने गरी निर्माण कार्य भइरहेको रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्य बताउनु हुन्छ ।

रामपुर नगरको वडा नम्बर ६ लाई आलुको पकेट क्षेत्रको रूपमा विकास गरिसकिएको छ । गत वर्ष वडामा उत्पादित आलुको बिउ भण्डारका लागि रुपन्देहीको भैरहवास्थित शीतभण्डारमा पु¥याउनु परेको थियो । अब विगतमा जस्तो समस्या नभएर रामपुरमानै उत्पादित आलुको भण्डारण गर्न सकिने हुँदा कृषकहरू पनि उत्साहित भएका छन् ।

रामपुर नगरभित्र वर्षिक ७ करोड रुपैयाँ बराबरको आलु बाहिरबाट आउने भएकाले बाहिरी जिल्लामा उत्पदित वस्तुलाई प्रतिस्थापन गर्न र मौसममा उत्पादन गरी बेमौसममा कृषि उपज बिक्रीका लागि शीतभण्डार निर्माण गरिएको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डे बताउनुहुन्छ ।

करोडौं रुपैयाँ खर्च गरेर निर्मित शीतभण्डारका लागि प्रशस्त मात्रामा कृषि उपज भए मात्र सरकारको लगानीले सार्थकता पाउने देखिन्छ । त्यसका लागि प्रदेश सरकार र स्थानीय सरकारले व्यावसायिक कृषिमा जोड दिनु पर्ने हुन्छ ।