
काठमाडौं । अमेरिकी संसदका अधिकांश सदस्यहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको पक्षमा मतदान गर्ने बताएका छन् । गत हप्ता संसद भवनमा भएको आक्रमणको जिम्मेवार ठहर्याउँदै राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग दर्ता भएपछि अधिकांश सांसदहरुले महाअभियोगको पक्षमा मतदान गर्ने जनाएका हुन् ।
राष्ट्रपति ट्रम्पले गत नोभेम्बरमा भएको राष्ट्रपतिको निर्वाचनको मत परिणामलाई अस्वीकार गर्दै आउनुभएको थियो । गत हप्ता जर्जिया राज्यको अन्तिम मत परिणाम घोषणा गर्ने क्रममा उहाँका समर्थकले संसद भवनमा प्रवेश गरेर हिंसात्मक गतिविधि गरेका थिए ।
घटनापछि ट्रम्पलाई राजीनामा दिन दवाव बढेपनि त्यसलाई बेवास्ता गरेपछि सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । यही जनवरी २० मा आफ्नो कार्यकाल सकिनु अघि नै राजीनामा दिन विपक्षी दल तथा सांसदहरुको आग्रह अस्वीकार गरेपछि ट्रम्पमाथि महाअभियोगको प्रक्रिया सुरु भएको हो ।
संसदमा आज उक्त प्रस्तावमाथि मतदान हुने बताइएको छ । घटनापछि शान्तिपूर्ण रुपमा सत्ता त्याग्न आफू तयार रहेको बताएपनि राष्ट्रपति ट्रम्पमाथि तत्कालै राजीनामा दिन दवाव बढेको छ ।
नयाँ राष्ट्रपति निर्वाचित भएपछि पनि ट्रम्पले विभिन्न विवादास्पद निर्णय गरेको भन्दै संसदमा उहाँको चर्को आलोचना भएको छ । राष्ट्रपति ट्रम्पले महाअभियोग प्रस्तावको प्रक्रिया बढ्नु दुखद भएको टिप्पणी गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्