
काठमाडौं । सङ्खुवासभाको चिचिला गाउँपालिकामा बोन्पो गुरुङ लामाको संरक्षणका लागि पाँच लाखको अक्षय कोष स्थापना गरिएको छ । बोन्पो लामाको संस्कृति लोप हुँदै गएकाले संरक्षण लागि विभिन्न व्यक्ति र संस्थाले रु पाँच लाखको अक्षय कोष स्थापना भएको छ ।
बोन्पो लामाको संरक्षणका लागि पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) हेमबहादुर गुरुङ एक लाख कोष स्थापना गर्नुभएको छ । चिचिलामा भएको कार्यक्रममा पूर्व (आइजिपी) गुरुङले मातापिताको नाममा रु एक लाखको चेक तमु प्ये ल्हुँ सङ्घ सङ्खुवासभाका अध्यक्ष गोवद्र्धन गुरुङलाई हस्तान्तरण गर्नुभएको छ । उहाँले गुरुङहरूले आफ्नो जातीय कर्मकाण्ड गर्ने खेगीहरू संरक्षण गर्न आवश्यक रहेकोसमेत बताउनुभयो ।
त्यसैगरी सङ्घ युकेबाट तीन लाख र हङकङबाट एक लाख गरी पाँच लाखको अक्षय कोष स्थापना भएको छ । त्यसका साथै कार्यक्रममा तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा छात्रवृत्तिसमेत वितरण गरिएको थियो ।
तमू प्ये ल्हुँ सङ्घले सनातन र परापूर्वकालदेखि गुरुङ जातिहरूले मनाउँदै आएका धर्मसंस्कार, संस्कृति संरक्षण र जगेर्ना गर्ने काम गर्दै आएको छ । सोहीअनुसार उनीहरुले सङ्खुवासभाको चिचिला गाउँपालिकाअन्तर्गत मत्स्यपोखरी, पोखरीगाउँ, माङमाया र ध्वजेलगायत स्थानमा रहेका बोन्पो लामाहरूको संरक्षणका लागि विभिन्न काम गर्दै आएको छ । रासस
प्रतिक्रिया दिनुहोस्