
काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले हिजो कांग्रेस सभापति शेर बहादुर देउवासँग गोप्य भेट गरि सहकार्यको प्रस्ताव गर्नुभएको छ । प्रतिनिधिसभा पुनःस्थापित हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिका लागि पनि सहकार्य गर्न कांग्रेस सभापति देउवासँग दाहाल नेपालले प्रस्ताव गर्नुभएको हो ।
दाहाल–नेपालले प्रतिनिधिसभा पुनःस्थापनाका लागि संयुक्त संघर्ष गर्ने र पुनःस्थापित भएको अवस्थामा देउवा नै प्रधानमन्त्री बन्न सक्नेसम्मको ‘अफर’ गरेको बुझिएको छ । हिजो साँझ ६ देखि ८ बजेसम्म राजधानीमा देउवासँग भएको गोप्य भेटमा दाहाल र नेपालले संयुक्त संघर्षदेखि सत्ता–सहकार्यसम्मको प्रस्ताव गर्नुभएको हो ।
देउवाले दाहाल–नेपालको प्रस्ताव पार्टीको बैठकमा राख्ने र त्यहाँबाट आएको निचोडपछि फेरि छलफल गर्ने बताउनुभएको थियो । दाहाल र नेपालले ओलीको असंवैधानिक कदमको साझेदार बन्नुभन्दा बरु जस्तोसुकै परिस्थितिमा पनि आफूहरूसँग सहकार्य गर्न देउवालाई आग्रह गरेको सम्बद्ध स्रोतको भनाइ छ ।
उहाँहरुले संयुक्त मोर्चा बनाएर सँगै आन्दोलनमा जान पनि देउवालाई प्रस्ताव गर्नुभएको थियो । तर देउवाले यसमा सकारात्मक जवाफ नदिएपछि कस्तो परिस्थिति आउँदा कुन हिसाबले सहकार्य गर्ने भनेर कुराकानी भएको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्