१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


थारु समुदायमा माघीको रौनक,माघ १ गतेलाई नयाँ वर्षको रुपमा मनाउने


0
Shares

केशव कोइराला

बर्दिया । थारु समुदायले माघी अर्थात माघ १ गतेलाई नयाँ वर्षको रुपमा मनाउने गर्ददछन् । पश्चिम तराइको दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा थारु समुदायले यो पर्व विशेष महत्वका साथ मनाउने गर्दछन् । थारु समुदायमा यति बेला माघीको रौनक बढेको छ । थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने माघी पर्व ३ दिनसम्म मनाउने गर्दछन् ।

पुषको अन्तिम दिन रातभर नाचगान गरेर जाग्राम बस्ने, डफ बजाउने र गाउने चलन रहेको छ । माघे सक्रान्तिका दिन विशेषगरी थारु समुदायका महिला–पुरुष बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुहाएर आफूभन्दा ठूलाबाट आशिर्वाद लिने गर्दछन् ।

आर्शिवादले वर्षभरीमा भएको मनमुटावलाई फेरी मिलाउन सकिन्छ भन्ने विश्वास रहेको छ । नयाँ वर्षका रुपमा लिइने माघी पर्व भव्य रुपले मनाइने थारु गुरुवा बिरवहादुर थारुको भनाइ छ । माघी पर्व माघको २ गते सकिन्छ । पर्वको अन्तिम दिन आफनो घर परिवार र गाउँमा भएको गत वर्षको कामको समीक्षा र आगामी वर्षको योजना बनाउने तथा नयाँ नेतृत्व बरघर चौकीदार गुरुवा चुन्ने गरिन्छ ।

जसलाई माघी डेवानी अर्थात खोज्नी बोझ्नी भनिन्छ । माघी मनाउन यति वेला बर्दियाको राजापुर– १ मुर्गहवामा रहेको थारु सोनाहा सामुदायिक होमस्टेमा स्थानीय भेला भएका छन् । आफ्नै मौलिकता र पहिचान बोकेको थारु सँस्कृति माघीको विशेषता भएको र आफुहरु परम्परा जोगाउन लागि परेको होमस्टेका अध्यक्ष इन्द्रा देवी थारुको भनाइ छ ।

थारु समुदायका पुरुषहरू माघीका लागि मासुको जोहो गर्न व्यस्त हुन्छन् भने महिलाहरूलाई घर लिपपोत गर्न, दुना टपरी बनाउनका साथै जाँड, ढिक्री, रोटीलगायत तयार गर्ने गर्दछन् । माघीमा पाहुना धेरै जम्मा हुने भएकाले उनीहरूको स्वागतका लागि थरीथरीका स्थानीय खाना पकाउने गरिन्छ ।

विगतका वर्षहरुमा मेला, महोत्सव तथा नाटक मञ्चन गरि माघी मनाउने गरे पनि कोरोना भाइरसका कारण यस वर्ष परिवारभित्रै पर्व मनाउने थारु समुदायको तयारी छ । (भिडियो हेर्नुहोस्)