
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि पार्टी कार्यालय पेरिसडाँडामा बस्दै छ । हिजोदेखि जारी बैठक आज पनि बस्न लागेको हो ।
समान वरियताका दुई जना अध्यक्ष रहेकाले यस पटकको बैठकको अध्यक्षता पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको छ । आज बस्ने बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने र माधव नेपाल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।
पुस ५ गतेको प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको सिफारिस गर्ने निर्णयविरूद्ध पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपा आन्दोलित छ । तर, आन्दोलनमा अपेक्षा अनुसार जन सहभागिता नभएपछि यसलाई थप सशक्त बनाउन नेताहरु छलफलमा रहेको बताइएको छ ।
हिजोको बैठकमा बोल्ने अधिकांश सदस्यहरूले उपत्यका केन्द्रित आन्दोलन प्रभावकारी नभएको विश्लेषण गरेका थिए । आजको बैठकमा अध्यक्ष नेपाल नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदनमाथि पनि छलफल हुनेछ । पार्टी विभाजनपछि केपी ओली समूहमा लागेकाहरूलाई हटाएर नयाँलाई जिम्मेवारी दिनेगरी नेता नेपालले प्रस्ताव तयार पारेका छन् ।
प्रतिक्रिया दिनुहोस्