
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध शनिबारको प्रदर्शनमा सहभागी बन्न अपिल गर्नुभएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक बताउँदै ७ सय ५३ स्थानीय तह निर्वाचन क्षेत्रमा हुने विरोध प्रदर्शनमा सहभागी बन्न आपिल गर्नुभएको हो । उहाँले विरोध प्रदर्शनमा सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न पनि आग्रह गर्नुभएकाे छ ।
कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा शनिबार ७ सय ५३ वटा स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ । यसअघि कांग्रेसले पुस १३ गते १ सय ६५ वटा निर्वाचन क्षेत्रमा र पुस २५ गते ३ सय ३० वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।
कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नुलाई असंवैधानिक भन्दै देशव्यापी प्रदर्शन गर्दै आएको छ । अहिले कांग्रेसले दोश्रो चरणको विरोधका कार्यक्रमहरू गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्