
काठमाडौं । सरकारले घोषणा गरेको मध्यावधि निर्वाचन गराउन आठ अर्ब बढी रकम आवश्यक पर्ने निर्वाचन आयोगले अनुमान गरेको छ । आयोगले निर्वाचनमा लाग्ने खर्चबारे हिजो अर्थ मन्त्रालयसँग पनि छलफल गरेको छ ।
आयोगले हिजो नै दलहरुसँग निर्वाचनका बारेमासमेत छलफल गरेको थियो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचनबारे छलफल सुरू गरिएको जानकारी दिनुभयो । उहाँले निर्वाचन गराउन आवश्यक पर्ने खर्चबारे अर्थ मन्त्रालयका सचिवसँग छलफल गरेको बताउनुभयो ।
निर्वाचनका लागि कति खर्च लाग्छ भन्ने टुंगो लागिनसकेपनि आठ अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर आगमी वैशाख १७ र २७ मा मध्यावधि निर्वाचनको मिति घोषणा गर्नुभएको छ ।
तर प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । यसबारे निरन्तर सुनुवाइ भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्