
डम्मर बुढा मगर
बागलुङ । ढोरपाटन नगरपालिकाका होमबहादुर विकको नाममा अहिले न सम्पति छ, न पुर्ख्याैली जग्गा जमिन नै । अनि छैनन् जीवनभर दरिलो साथ दिने संकल्प गरेकी जीवन संगिनी पनि । उनीसँग छ त, केवल गहभरी आँसु ।
गत भदौ १७ गते राति गएको बाढीले होमबहादुरको सबै सपना चकनाचुर बनाइदियो । जीवन संगिनी कुमारी विकलाई मात्र लगेन, परिवार र गाउँ उजाड बनाइदियो । होमबहादुरसँग यीनै ६ र ८ वर्षका भुरा छोरा छन् । यो कठ्याङ्ग्रिदो जाडोमा स्याउलाले बारेको छाप्रोमा जसोतसो आश्रय लिएर दुःखजिलो गरी रात काट्न बाध्य छन् । स्याउलाले बारेर बस्दै आएको यो जमिन पनि उनको होइन ।
बाढीले सबै जग्गा जमिन बगाएपछि एउटा छाप्रो बनाएर बस्ने थाडा थलो समेत छैन । श्रीमतीले घर धन्दा चलाउने र होमबहादुरले विदेशमा कमाउने गर्दा परिवार राम्रै चलेको थियो । तर, अहिले उनको हबिगत भएको छ । ७ महिना कोरोनाका कारण लकडाउनले गर्दा बेरोजगार भएका छन् । हातमुख जोड्न धौ–धौ भइरहेको बेला घरमा परेको यस्तो महाविपत्तिले उनलाई असह्य पीडा दिइरहेको छ ।
आफ्नो सम्पत्ति, घर, जग्गा कहाँनेर थियो नाम निशान छैन । उनको भएको जग्गा पनि ढुङ्गा र मुढाले भरिएर बगर बनेको छ । बाढीले भूजीखोला छेउमै रहेको उनको किराना पसल, गाई गोठसहित अंशमा परेको सबै सम्पति बाढीले बगाएको छ । छाप्रोको एकातिर गाई बाँध्ने दाम्लो र अर्कोपट्टि पुराना पाटे तुनेका थाङ्ना भोटा देखिन्छन् ।
होमबहादुर दुई छोराहरू सहित यही छाप्रोमा रात बिताउँछन् । उनीहरूले त्यही पुराना थाग्ना भोटा लगाएर जाडो छेक्न बाध्य छन् । खानेकुरा सकियो भने भोकभोकै बस्ने स्थिति छ उनीहरूको ।
चिसो मौसम बढ्दै जाँदा उनीहरूको जीवनको बोझ झन् बढ्दै गएको देखिन्छ । नगरपालिका, केन्द्र र प्रदेशबाट आउने नेताहरूले घर बनाइ दिने आश्वासन देखाए पनि अहिलेसम्म सबैले कुरामात्र गरेको उनको भनाइ छ । होमबहादुर जस्ता दजनौं बाढी पीडितको समस्या अहिले पनि उस्तै छ । त्यसैले पनि यस तर्फ सम्बन्धित निकायको ध्यान पुग्नु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्