
काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री(पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सुखद सुरुवात गरेको छ । मंगलबार त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा प्रदेश २ लाई ७७ रनले पराजित गर्दै लुम्बिनीले पहिलो खेलबाटै दुई अंक जोडेको हो ।
२ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश २ लाई लुम्बिनीले ४२.४ ओभरमा १ सय ८० रनमा रोकेको हो । लुम्बिनीको जितका लागि अनिल खरेल एक्लैले ४ विकेट लिए ।
यस्तै बिक्रम भुसाल र दिपेन्द्र रावतले २–२ तथा कृष्ण कार्की र सन्दीप सुनारले समान १–१ विकेट लिए । ब्याटिङतर्फ प्रदेश २ का बिवेक यादवले ५१, सुधिर चौधरीले ४२, महबुब आलमले ३१ र हरिशरण शाहले २२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनी प्रदेशले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो । उसका लागि सन्दीप रजालीले सर्वाधिक ८३ रन बनाए । १ सय ७ बलको सामना गरेका सन्दीपले ११ चौकाको मद्दतले ८३ रन बनाएका हुन् ।

यस्तै, सौरभ खनालले ५६, बिक्रम भुसालले ३६, सन्दीप सुनारले ११ र कृष्ण कार्कीले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । बलिङतर्फ प्रदेश २ का हरिशरण शाहले ३, दिव्यांशु मलिकले २ तथा सैफुल्लाह अन्सारी, कुमार थापा र विशाल शुस्लिङले १–१ विकेट लिए ।
जितसँगै लुम्बिनी प्रदेश अंकतालिकाको दोस्रो स्थानमा छ । सर्वाधिक ८३ रन बनाएका सन्दीप रजाली प्लेयर अफ दि म्याच घोषित भएका छन् । लुम्बिनी प्रदेशको अर्को खेल बिहीबार विभागीय टीम नेपाल पुलिस क्लबसँग छ ।
प्रतिक्रिया दिनुहोस्