१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरेको सर्यै कांग्रेस बैठक, ‘प्रधानमन्त्री पद’काे प्रस्तावपछि सुटुक्क भेट्दै शीर्ष नेता


0
Shares

रोमन आचार्य
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले मध्यावधि निर्वाचन कि संसद पुनःस्थापना भन्ने विषयमा आधिकारिक धारणा बनाउन सकेको छैन ।

दुई ध्रुवमा विभाजित भएर जनतामाझ गएको कांग्रेसले केन्द्रीय समिति बैठकको मिति तोक्दै सार्दै गर्दा कार्यकर्तामा पनि अन्योल बढेको छ । सोमबार सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल निवासमा पुगेर पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीलाई मिलेका राजनीतिक अवसरमा एक भएर अघि बढ्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक प्रतिनिधिसभा विघटन गरेपछि धारणा बनाउन कांग्रेसले बोलाएको केन्द्रीय समिति बैठक एक महिना पुग्दासमेत सकिएको छैन । पुस ७ गतेबाट सुरु भएको केन्द्रीय समिति बैठक जम्मा चार पटक मात्र बसेको छ भने तीन पटक मिति तोक्दै सार्ने काम भएको छ । संस्थापन पक्ष राजनीतिक घटनाक्रमले भन्दा पनि महाधिवेशनको विषयमा उत्पन्न प्राविधिक विषयहरूमा सहमति नजुट्दा बैठक सार्नुपरेको बताउँछ ।

बैठक कांग्रेसका लागि किन पनि महत्वपूर्ण छ भने पार्टीको १४ औं महाधिवेशन पूर्वनिर्धारित फागुनमा सम्भव छैन । महाधिवेशन तालिका संसोधन बैठकको मुख्य जिम्मेवारी हो । त्यसो त पार्टीभित्र वैचारिक मतान्तर निरुपणका लागि निरन्तर अनौपचारिक छलफल जारी छ ।

यसअघि असोज महिनामा पौडेल समूहले विधानविपरित भएका निर्णय सच्याउन गरेको माग पनि सुनुवाइ भएको छैन । ३ जिल्लामा पार्टी समायोजन, कृयाशील सदस्यताको विवाद निरूपण, विभाग गठनको किचलो कांग्रेसभित्र अझै पनि छ । त्यसैकारण सोमबार सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई बोहोराटार पुगेर गरेको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ ।

वान टु वान वार्तामा पार्टीभित्रको आन्तरिक विवाद र प्रतिनिधि सभा विघटनपश्चात् कांग्रेसलाई उत्पन्न अवसरको विषयमा छलफल भएको बुझ्न कठिन छैन । नेकपाको दुवै खेमाबाट सभापति देउवालाई ‘प्रधानमन्त्री पद’ उपहार सहितको प्रस्ताव आउँदा दुई नेताको भेटमा महत्वपूर्ण सम्वाद भएको छ ।

प्रतिनिधिसभा विघटनले प्रदेश सभाको राजनीतिमा समेत अस्थिरता उत्पन्न गरेको छ । केन्द्रको बैठकले पूर्णता नपाउँदा प्रदेशमा कांग्रेसले कुन दिशा लिने स्पष्ट भएको छैन । एक महिनाको अवधिमा सभापतिसहित २१ जना नेताहरूले मात्र आफ्नो धारणा राख्दा अझै १ सय ८ जना केन्द्रीय सदस्यहरू बैठक कुरेर बसेका छन् ।

कछुवाको गतिमा अघि बढ्ने हो भने राजनीतिक संकटमा न त कांग्रेसको स्पष्ट धारणा आउने छ, न त महाधिवेशनको सुनिश्चिता नै हुनेछ । क्यामरा– दिलिप पोखरेल