
एजेन्सी । नयाँ अमेरिकी राष्ट्रपति जो बाइडेनको सपथग्रहण समारोहको केही घण्टा अघि ईरानका राष्ट्रपति हसन रुहानीले २०१५ मा भएको परमाणु सम्झौतामा फर्कन अपिल गर्नुभएको छ । साथै उहाँले ईरानमाथि लगाएको प्रतिबन्ध हटाउन पनि माग गर्नुभएको छ ।
मन्त्रिपरिषद बैठकमा राष्ट्रपति रुहानीले अमेरिकाले अन्तर्राष्ट्रिय सम्झौताको सम्मान गर्नुपर्ने बताउनुभएको त्यहाँकाे सरकारी सञ्चारमाध्यम प्रेस टिभीले जनाएको छ । उहाँले भन्नुभएको छ, ‘अमेरिकाले अन्तर्राष्ट्रिय सम्झौताको सम्मान गरेको खण्डमा हामी पनि जिम्मेवारी निभाउछौँ ।’
ईरान र अमेरिकाबीचको सम्बन्ध सुधार्न राष्ट्रपति बाइडेनले ४ वर्ष मेहनत गर्नुपर्ने उहाँको तर्क छ । ईरानमाथि प्रतिबन्ध लगाउने अमेरिकी नीतिलाई रुहानीले आर्थिक आतंकवादको संज्ञा दिँदै ईरानलाई बर्बाद गर्ने ट्रम्पको कोसिस बेकार भएको जिकिर गर्नुभयो ।
पछिल्लो तीन वर्ष आफ्ना नागरिकका लागि मुस्किल भए पनि अमेरिकी नीति विफल भएको रुहानीको तर्क छ । ईरानी जनताले अमेरिकी नीतिको सधैँ विरोध गर्दै डटेर सामना गरेको उहाँले बताउनुभयो । रुहानीले ट्रम्पको खुलेर आलोचना गर्दै बाइडेनलाई पछिल्ला वर्षहरुमा भएका घटनाबाट पाठ सिक्न पनि आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्