
काठमाडौं, माघ ८ । सेतो मत्स्येन्द्रनाथलाई बिहीबार महास्नान गराइएको छ ।
काठमाडौंको जनबहाः कनकचैत्य महाविहारमा बिहीबार अपराह्न स्नान गराउने तलेजुका पुजारी उद्धव कर्माचार्यले जानकारी दिनुभएको छ ।
हिन्दूहरुले हरिहरका रूपमा र बौद्धहरूले आर्याअवलोकितेश्वरका रूपमा पूज्ने सेतो मत्स्येन्द्रनाथलाई हरेक वर्षको पौष शुक्ल अष्टमीको दिन महास्नान गराउने चलन छ ।
हरेक वर्ष नागढुंगा र चन्द्रागिरिको बीचमा रहेको एउटा दहबाट शाक्य र बज्राचार्य पुजारीले पैदलै गएर पानी ल्याई सोही पानीमा शोभा भगवतीको निर्मल तीर्थबाट ल्याएको पानी पनि मिसाई दूध, घिउ आदि समेत मिसाएर बनाइएको पवित्र जलले मत्स्येन्द्रनाथको स्नान गराउने प्रचलन छ ।
सामान्यतया मान्छेको एक वर्ष बराबर भगवानको एकदिन हुन्छ भन्ने मान्यता अनुरुप प्रत्येक पुस महिनामा विधिपूर्वक महास्नान गराउने गरिएको तलेजुका पुजारी कर्माचार्यले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्