१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हतार–हतार जुटेको जसपामा पुनः फुटको आशंका, बाक्लियो नेकपा नेतासँगको भेटघाट


0
Shares

अक्कल कुँवर
काठमाडौं । गत बैशाख पहिलो साता सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि हतार–हतारमा तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भए पनि दल दर्ताको लागि निर्वाचन आयोगमा गएकै दिन शीर्ष नेताहरूको वरियता सम्बन्धी विवाद देखिएको थियो । दुई पार्टीबीच एकतापूर्व देखि नै देखिएको नेता व्यवस्थापनको विवाद अझै जारी छ ।

एकता भएको लामो समय बितिसक्दा पनि जसपा सिद्धान्त, कार्यदिशा र संगठनात्मक एवं भावनात्मक रूपले अझै एक हुन सकेको छैन । एकता प्रक्रिया टुङ्गोमा नपुग्दै पार्टीभित्र बढ्दो शक्ति संघर्षले नेकपा जस्तै जसपा पनि विभाजन हुने त होइन भन्ने आशंका उब्जिन थालेको छ ।

जसपाका कतिपय नेताहरू पार्टी विभाजनकै धेयले नेकपाका दुवै समूहका शीर्ष नेताहरुसँग बारम्बार छलफलमा रहेको स्रोतको दावी छ । छलफलमा पार्टी विभाजन, जसपा परित्याग र नेकपामा प्रवेशको विषयले नै प्राथमिकता पाउने गरेको छ । जसपा नेता डा.शिवजी यादवले जनभावना विपरित पार्टी विभाजन भए दुर्भाग्य हुने टिप्पणी गर्नुभयो ।

एकता प्रक्रियाकै क्रममा पार्टीभित्र देखिएका बहुआयामिक बिवादले जसपा पूर्व समाजवादी र राजपाकै रूपमा अलग हुने त होइन भन्ने आशंका बढ्न थालेको छ । तर, जसपाका नेता केशव झा केही व्यक्तिको असन्तुटिले पार्टी विभाजन नहुने जिकिर गर्नुहुन्छ ।

स्रोतका अनुसार प्रतिनिधिसभा पुनःस्थापना वा निर्वाचनको विषयले ठोस दिशा लिएसँगै जसपाभित्रको परिदृष्यले पनि दिशा लिनेछ । नेकपाका दुवै पक्ष जसपाका प्रभावशाली नेताहरूलाई आफूतिर तान्ने प्रयासमा रहेको कतिपयको दावी छ । हुन त प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचनका विषयमा पनि जसपाभित्र दुई धार छ ।

प्रतिनिधिसभा पुनःस्थापनामै जोड दिइरहेको पूर्वसमाजवादी धार निर्वाचनमा जानै परे पनि ओली नेतृत्वको सरकारले गराउने निर्वाचनमा जान नहुने पक्षमा छ भने पूर्व राजपा धार अदालतले निर्वाचनकै पक्षमा फैसला गरे विना आनाकानी निर्वाचनमा जानुपर्ने पक्षमा छ । क्यामरा– भरत केसी