
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप खरिदका लागि भारतको पूर्वसर्तहरू मान्ने बताउनुभएको छ ।
बिहीबार बालुवाटारमा भारत सरकारको तर्फबाट राजदूत विनयमोहन क्वात्राले उपहारस्वरूप दिएको १० लाख डोज खोप बुझ्दै उहाँले खोप खरिदका लागि पूर्वसर्तहरु भए मान्ने बताउनुभएको हो ।
‘नेपाललाई थप ४० लाख डोज खोप आवश्यक छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भारत सरकारले नेपाललाई कसरी उपलब्ध गराउन सक्छ, छलफल गर्न आवश्यक छ ।’ उहाँले नेपालले आवश्यक खोपहरू खरिद गर्न तयार रहेको भन्दै पूर्वसर्तहरू भए मान्न तयार रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भारत सरकारले बाँकी खोपहरू पनि उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भारतले नेपाललाई कोरोनाविरुद्दको खोप सहयोग गर्नु मित्रताको प्रतिकको रूपमा रहेको उल्लेख गर्दै यसले दुई देशबीचको एकतालाई देखाएको बताउनुभयो ।
यस्तै हस्तान्तरण कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारत सरकारको सहयोग निरन्तर हुने बताउनुभयो । भारतले छिमेक पहिलो नीतिलाई प्राथमिकता दिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्