
काठमाडौं । मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव टेबल गर्ने कार्यसूचीसहित बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुने कार्यसूची रहेको प्रदेश संसद सचिवालयले जनाएको छ ।
नेकपामा दाहाल–नेपाल समूहका सांसदहरुले बैठक नबसे धर्ना दिने चेतावनी दिएपछि सभामुख श्रेष्ठले गएराति आज दिउँसो १ बजेका लागि बैठक आह्वान गर्नुभएको हो । यसअघि नेपाली कांग्रेसलगायत दलका सांसदले आज बिहान ११ बजे बैठक संचालन गर्न आग्रह गरेको भए पनि थप छलफल गर्नुपर्ने भन्दै सभामुख श्रेष्ठ पछि हट्दै आउनुभएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली समूहका मानिने मुख्यमन्त्री पौडेलविरुद्ध दाहाल–नेपाल समूहका प्रदेश सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गराएका छन् । गएको पुस १० गते ४५ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।
प्रदेशसभामा १ सय १० जना सदस्य रहेकामा ५६ जनाले बहुमत पुग्छ । प्रदेशसभामा कांग्रेसका २२, विवेकशील साझाका ३ जना, राप्रपाका २ जना, नेपाल मजदुर किसान पार्टीका २ जना र स्वतन्त्र सांसद एक जना छन ।
प्रतिक्रिया दिनुहोस्