१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पिएम कप क्रिकेटमा कर्णालीलाई २ सय १६ र बागमतीलाई १ सय ७८ रनको लक्ष्य


0
Shares

काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री (पिएम)कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गतका पाचौँ दिनका शुक्रबार दुई खेल भइरहेका छन् । शुक्रबार प्रदेश १ मा कर्णाली प्रदेश तथा प्रदेश २ र बागमती प्रदेश बीचको खेल जारी छ ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई २ सय १६ रनको लक्ष्य दिएको छ । प्रदेश १ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय १६ रन बनाएको छ । उसनक लागि कप्तान सिद्धान्त लोहनीले अर्धशतकिय पारी खेले । उनले ९७ बलको सामना गर्दै ९ चौकाको मद्दतले ६६ रन बनाए ।

यस्तै, शुभाङ्कर उराव ३६, मिनाष थापा २५ तथा फिरदोस अन्सारी र श्रवण यादवले समान १७–१७ रन बनाए । बलिङतर्फ कर्णाली प्रदेशका रविन्द्र शाहीले ३, दिनेश अधिकारी र अनुज चुनराले २–२ विकेट लिए ।

उता मुलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश २ ले बागमती प्रदेशलाई १ सय ७८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश २ ले ४८.२ ओभरमा १ सय ७९ रन बनाएको हो ।

प्रदेश २ का लागि विवेक यादवले अर्धशतकीय पारी खेलेका छन् । ७४ बलको सामना गरेका उनले ३ चौका र ३ छक्का प्रहार गर्दै ६६ रन बनाए । यस्तै राहुलप्रताप सिंह १८, कुमार थापा २२, सुधिर चौधरी १५ र सुरज कुर्मीले १३ रन बनाए ।

बलिङतर्फ बागमती प्रदेशका गौतम केसी एक्लैले ४ विकेट लिए भने रामनरेश गिरीले २ विकेट लिए ।

अहिले कर्णाली प्रदेश र बागमती प्रदेशले जवाफी ब्याटिङ गरिरहेको छ ।