
काठमाडौं । बागमती प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव टेबुल गरिएको छ । प्रदेशसभा सदस्य एवं दाहाल–नेपाल पक्षको नेकपाका नेता अरुणप्रसाद नेपालले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्नुभएको हो ।
पौडेलविरुद्ध अविश्वासको प्रस्ताव राख्दै उहाँले प्रदेश सभा सदस्य अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री पदका लागि प्रस्ताव गर्नुभएको छ । अविश्वासको प्रस्तावमा ४५ जना सांसदहरुले हस्ताक्षर गरेका छन् ।
अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस गर्दै पूर्व उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्रीसमेत रहनु भएका नेपालले मुख्यमन्त्री पौडेलले तीन वर्षको अवधिमा प्रदेशलाई स्थापित गर्नबाट चुकेको, कोरोना महामारीमा प्रदेश सरकारको भूमिका कमजोर रहेको र प्रदेशप्रति जनताको विश्वास कमजोर बन्दै गएको कारण अविश्वासको प्रस्ताव दर्ता गरिएको जिकिर गर्नुभयो ।
बागमती प्रदेश सभामा १ सय १० सदस्य छन् । अविश्वासको प्रस्ताव पारित गर्न ५६ जना सांसदको समर्थन चाहिन्छ । प्रदेश सभामा नेकपाका ८०, कांग्रेसका २२, विवेकशील साझाका ३, राप्रपा र नेपाल मजदुर किसान पार्टीका २–२ र स्वतन्त्रबाट १ जना सांसद छन् ।
प्रदेश सभा सदस्य अरुणप्रसाद नेपालले अविश्वासको प्रस्ताव राखेसँगै शुक्रबारका लागि बसेको प्रदेश सभा बैठक स्थगित भएको छ । अविश्वासको प्रस्तावमाथिको छलफल माघ १९ गते बस्ने प्रदेश सभा बैठकमा हुने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो । बैठक माघ १९ गते दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ ।
प्रतिक्रिया दिनुहोस्