
काठमाडौं । नेपालमा कोरोना संक्रमण देखिएको आज एक बर्ष पुरा भएको छ । योबीचमा नेपालमा २ लाख ६८ हजारभन्दा बढी व्यक्ति संक्रमित हुँदा झन्डै २ हजारले ज्यान गुमाएका छन् ।
गत वर्षको माघ ९ गते चीनको वुहानबाट नेपाल आएका एक युवकमा कोरोना संक्रमण देखिएको थियो । चीनमा पढेर नेपाल फर्किएका उनमा संक्रमण देखिएको २ महिना पश्चात मात्र दोस्रो संक्रमित भेटिएका थिए । दोस्रो संक्रमित भेटिएसँगै सरकारले चैत्र ११ गतेदेखि लकडाउन सुरु गरेको थियो ।
नेपालमा संक्रमण देखिएको १ वर्षको समयमा २ लाख ६८ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । तिमध्ये २ लाख ६३ हजार व्यक्तिले संक्रमण जितेका छन् । संक्रमण जित्नेको संख्या कुल संक्रमित संख्याको ९७ दशमलव ९ प्रतिशत हो ।
कोरोनाका कारण एक बर्षको अन्तरालमा झन्डै २ हजार व्यक्तिको मृत्यु भएको छ । विश्वका धेरै देशको तुलनामा नेपालमा मृत्यु हुनेको संख्या भने कम नै मान्नु पर्छ । संक्रमणका कारण गत जेठ ३ गते पहिलो पटक एक सुत्केरी महिलाको ज्यान गएको थियो । त्यसयता मृत्यु हुनेको संख्या बढ्दै गएको थियो ।
सबैभन्दा धेरै संक्रमण बागमती प्रदेशमा देखिएको छ । बागमती प्रदेशको पनि चार जिल्ला काठमाडौ, भक्तपुर, ललितपुर र चितवनमा बढी संक्रमित भेटिए । काठमाडौं उपत्यकामा मात्र १ लाख ४७ हजार भन्दा धेरैमा संक्रमण देखियो । तीमध्ये काठमाडौंमा मात्र एक लाख बढी व्यक्ति संक्रमित भए । सबैभन्दा कम संक्रमण सुदूरपश्चिम प्रदेशमा देखिएको छ ।
कोरोना भाइरस पत्ता लगाउने पीसीआर परीक्षण अहिलेसम्म २० लाख व्यक्तिमा गरिएको छ । यो संख्या नेपालको जनसंख्याको ६ प्रतिशतभन्दा धेरै हो । नेपालमा संक्रमण देखिएको १ वर्षभित्र सरकारले कोरोना भाइरसविरुद्धको खोप ल्याउन सफल भएको छ । पहिलो चरणमा भारत सरकारले अनुदान स्वरुप दिएको खोप फ्रन्टलाइनमा खटिनेलाई लगाइने छ ।
संक्रमण दर बढ्दै गएको १० महिनापश्चात भने संक्रमित र मृत्यु हुनेको संख्या घट्दै गएको छ । विश्वमा सुरुमा संक्रमण फैलिँदा बेलायत, इटली, स्पेन, लगायतका धेरै युरोपेली देशमा परिस्थिति काबुभन्दा बाहिर गएजस्तो देखिए पनि नेपालको स्वास्थ्य क्षेत्रले भने त्यसलाई नियन्त्रणमा राख्न सफल भएको छ ।
संक्रमण सुरु भएको केही समय अलमलमा परेको सरकारले ढिलै भए पनि सातै प्रदेशमा प्रयोगशाला स्थापना गर्नुका साथै धेरै अस्पतालमा, आईसीयू र भेन्टिलेटरको थप गरेको छ । यसले थोरै भए पनि नेपालको स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधारमा सुधार देखिएको छ । तर, स्वास्थ्य सामाग्रीको खरिदमा भएको अनियमितताको प्रकरणले भने अझै किनारा पाउन सकेको छैन ।
अझै पनि दिनहुँ ३ सय हाराहारीमा संक्रमित भेटिने गरेका छन् । संक्रमणको दर घट्नुलाई संक्रमणको दोस्रो लहर सुरु हुने संकेत देखिएको विज्ञहरूले बताउँदै आएका छन् । खोपको विकासले केही आशा भने पलाएको छ । तर, जनस्वास्थ्यको मापदण्ड प्रयोगमा भने छाड्नु हुँदैन ।
प्रतिक्रिया दिनुहोस्