१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फुकेकै हाे त कांग्रेसभित्रको गाँठो ?


0
Shares

रोमन आचार्य
काठमाडौं । नेपाली कांग्रेस विघटित प्रतिनिधिसभा पुनः पुनर्स्थापना गर्नुपर्छ भन्दै सडक संघर्षमा नउत्रने निश्चित जस्तै भएको छ । विघटनविरुद्ध चार चरणमा देशव्यापी विरोध कार्यक्रम गरे पनि कांग्रेसको प्राथामिकतामा मध्यावधि निर्वाचन परेको छ । कांग्रेसले वडा तहसम्म विरोध सभा गरेर पार्टीलाई चलायामान बनाउने प्रयास गरेको छ ।

कांग्रेसभित्र विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरिरहेको पौडेल समूहका नेताहरु पनि मध्यावधि निर्वाचनको पक्षमा खुलेर लाग्न थालेका छन् । शुक्रबार देउवा निवास बुढानिलकण्ठमा बागमती प्रदेशका केन्द्रीय सदस्य तथा प्रभावशाली नेताहरुबीच भएको छलफलमा पौडेल समूहका नेताहरू निर्वाचनको पक्षमा उभिएसँगै कांग्रेसको अबको प्राथामिकता निर्वाचन भएको प्रष्ट हुन्छ ।

त्यसो त समूहका नेता रामचन्द्र पौडेल अदालतलाई प्रभावित पार्ने गरी सडक संघर्ष गर्नुपर्ने पक्षमा देखिँदा बहुमत कांग्रेसीहरू निर्वाचनको माहोल बनाएर गुमेको शक्ति आर्जन गर्ने ध्येयमा देखिन्छन् । कांग्रेसका दुई पक्षको गाँठो निर्वाचन कि प्रतिनिधिसभा पुनर्स्थापना भन्ने विषयमा अड्किएको छ । पौडेल पक्षका नेताहरू पनि निर्वाचनको पक्षमा गएसँगै गाँठो फुकेको अनुमान गर्न थालिएकाे छ ।

दलभित्र घरझगडालाई निकास दिन नसकेर नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सनकको’ भरमा प्रतिनिधिसभा विघटन गरेको भन्दै कांग्रेसले चार चरणमा देशभर विरोध नगरेको होइन । तर, अन्तर्यमा विरोध सभाको उद्देश्य सुस्ताएको संगठनमा उर्जा भर्ने र मध्यावधि निर्वाचनको पक्षमा माहोल बनाउने नै देखिन्छ ।

कांग्रेस केन्द्रीय कार्यालयले नगर तहसम्मलाई बोधार्थ गर्दै जिल्ला कार्यसमितिहरूलाई पत्र पठाएर निर्वाचन तयारीमा जुट्न निर्देशन दिइसकेको छ । सभापति देउवाको उद्देश्य निर्वाचनबाट शक्ति आर्जन गरेर सत्ताको चाबी कब्जा गर्ने हो भन्ने विश्लेषण भइरहेको छ । किनभने सार्वजनिक कार्यक्रममा देउवाले पटक–पटक आन्दोलनभन्दा जनमत लिने अवसर गुमाउन नहुने पक्षमा जोड दिइरहनुभएको छ ।

त्यसैले कांग्रेस अब सडक संघर्षबाट विघटित प्रतिनिधिसभा पुनः पुनर्स्थापना भन्दा पनि जनताको धरदैलोमा भोट माग्न जाने तयारीमा जुटेको छ । भिडियो– भुपेन्द्र खड्का