
काठमाडौं, माघ १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल समूहका अर्का अध्यक्ष माधव नेपालले पदमा टिक्नका लागि प्रधानमन्त्री केपी ओलीले संकटकाल पनि लगाउन सक्ने आशंका गर्नुभएको छ ।
सोमबार पार्टी कार्यालय कोटेश्वरमा प्रदेश नं. २ का कार्यकर्ता भेटघाटमा नेता नेपालले प्रतिनिधिसभा भंग हुनै नसक्ने भन्दै प्रधानमन्त्री ओलीले चुनाव गराउने नभई संकटकाल लगाएर अथवा तानाशाही लादेर सत्तामा टाँसिरहने सोच रहेको दावी गर्नुभयो ।
आफूहरु गलत विचारविरुद्धको लडाईंमा रहेको भन्दै यो पद र कुर्सीको हानाथाप नभई पार्टीलाई विचार, विधि, पद्धतिमा चलाउने संघर्ष भएको जिकीर उहाँको थियो ।
अर्का नेता झलनाथ खनालले भने ओलीले समाजवादी बाटो छोडेर भद्दा पुँजिवादी उदारवाद अपनाएको आक्षेप लगाउनुभयो ।
प्रतिनिधिसभा विघटन लोकतन्त्र, संविधान, संघीयता, समावेशीता तथा गणतन्त्रमाथिको आक्रमण भएको भन्दै उहाँले प्रधानमन्त्री ओलीले मुलुकलाई प्रतिक्रान्तितर्फ लैजान खोजेको आरोप लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्