
राजेश जीसी
प्युठान । दैनिक चार घण्टा हिंडेर बिद्यालय पुग्नु पर्छ भन्दा अचम्म लाग्छ । तर, प्यूठानको ऐरावती, मल्लरानी, प्यूठान नगरपालिकाका विद्यार्थीहरु पढ्नक लागि चार घण्टा लामो पैदल यात्रा गरेर विद्यालय पुग्नै पर्ने बाध्यता छ ।
प्यूठानको मल्लरानी गाउँपालिका सरङ्गकोटकी बिपना खनाल दैनिक १० किलोमिटर लामो बाटो हिडेर विद्यालय जान बाध्य छिन् । उनी बिहान ८ बजे पढ्नकै लागि भनेर २ घण्टा लगाएर महेन्द्र मावि खलंगा पुग्ने गरेकी छन् ।
गाउँ नजिकै स्कुल नहुदाँ उनी जस्तै प्यूठान नगरपालिका छेपानी, नेपानी, मल्लरानी गाउँपालिका गिरचौर लगायतका विद्यार्थीहरु दैनिक ३ घण्टा पैदल हिडेर विद्यालय पुग्नु पर्ने बाध्यतामा छन् । भौगोलिक विकटता र यातायातका साधनको सहज पहुँच नहुदाँ दैनिक १० किलोमिटरक हिडुनु उनीहरुको दैनिकी हो ।
त्यस्तै प्यूठानको छेपानीका युवराज पुन को पनि दैनिकी उस्तै छ । पढ्नकै लागी जङ्गलको बाटो छिचोल्दै दैनिक साढे २ घण्टा लगाएर विद्यालय आउजाउ गर्नु पर्ने उनको बाध्यता बनेको छ । बिद्यालय टाढा हुदाँ र दैनिक रुपमा जंगलको लामोबाटो आउजाउ गर्नु पर्दा जोखिम बढ्दै गएको र थकित हुँदा पढ्न समस्या भएको उनीहरुको गुनासो छ ।
उनीहरु यस भेगका प्रतिनिधि पात्र मात्र हुन् । उनीहरु जस्तै प्यूठानका धेरै स्थानका बिद्यार्थीहरुको दैनीकी यस्तै छ । दैनिक ३÷४ घण्टा लगाएर सयौ विद्यार्थी विद्यालय जाने गरेका छन् । महेन्द्र माविमा छेपानी, नेपानी, मल्लरानी गाउँपालिका गिरचौर लगायतका स्थानबाट अधययन गर्न विद्यार्थीहरु आउने गरेका छन् ।
विद्यालय टाढा हुदाँ विद्यार्थीहरुको सिकाइ उपलब्धी तथा अध्ययनमा कम रुची हुने गरेको महेन्द्र माध्यमिक बिद्यालयका प्रधानाध्यापक पिताम्बर पौडेलको भनाई छ । यातायातका साधनको पहुँच तथा भौगोलिक विकटता भएका स्थानका बिद्यार्थीको सुविधाका लागि स्थानीय निकायले सहजीकरण गर्नु पर्ने देखिन्छ ।
बाराम्बार विद्यार्थीको समस्याकाबारेमा अभिभावक र स्वयं विद्यार्थीलेसमेत पटक पटक ध्यानाकर्षण गराउँदासमेत कसैले चासो राखेको पाइँदैन । त्यसैले पनि विद्यार्थीको यस्तो समस्या सामधान गर्न सरोकारवालाहरुले अब चाँही ढिलो गर्नु हुन्न ।
प्रतिक्रिया दिनुहोस्