१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रिय एकद्वार प्रणाली सुरु, खर्च र समय घटाउन गोल्छाको आग्रह


0
Shares

काठमाडौं । भन्सार विभागले व्यापारिक प्रक्रिया एकै ठाउँमा सहजै हुने गरी नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु गरेको छ । विभागले अन्तराष्ट्रिय व्यापार, भन्सार जाँचपास तथा भन्सार प्रक्रियामा सरलीकरण गर्ने उद्देश्यले ६९ औं भन्सार दिवसको अवसरमा प्रणालीको सुरुवात गरेको हो ।

अर्थमन्त्री विष्णु पौडेलले प्रणालीको सुरुवात गर्दै भन्सारलाई अझै प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताउनुभयो । मन्त्री पौडेलले निजी क्षेत्र र भन्सार एकै सिक्काको २ पाटा रहेको उल्लेख गर्दै न्यून बिजकीकरण र राजस्व चुहावट व्यवस्थापनमा निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा वाणिज्य सचिव वैकुण्ठ अर्यालले एकिकृत जाँच चाौकीमा भएको पुर्वाधार अभाव छिट्टै नै पूर्ति गर्दै लैजाने भन्दै भैरहवा र नेपालगन्जमा पनि एकिकृत जाँच चौकी सुरु गर्र्न लागेको जानकारी दिनुभयो । सरकारले भैरहवा र विराटनगरसम्म रेल ल्याउन सम्झौता गरेको अर्यालले बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोेल्छाले भन्सारमा अझै पनि पूर्वाधार, प्रविधि र पारदर्शितामा ध्यान दिनुपर्ने बताउनुभयो । भन्सारमा सामान पास गर्न अझै पनि समय लाग्ने गरेको भन्दै उहाँले भन्सार पूर्वाधार विकासका साथै आईसीपी व्यवस्थित गरी खर्च र समय घटाउन आग्रह गर्नुभयो ।

विभागले सुरु गरेको नेपाल राष्ट्रिय एकद्वार प्रणालीले अन्तराष्ट्रिय व्यापारमा सहयोग पुग्ने विभागले जनाएको छ । अन्तराष्ट्रिय व्यापार तथा पारवहनसँग सम्बन्धित सबै काम एकैपटक र एकै प्रवेश विन्दुबाट सुरु गर्ने व्यवस्थाको सुरुवात विभागले गरेको हो ।