
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा दाहाल–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले माइतीघरमा धर्ना दिएका छन् ।
बुधबार दाहाल–नेपाल पक्षका विघटित प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेशसभा सदस्यहरूले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।
असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरी देशलाई प्रतिगमन तर्फ लैजाने उल्टो कदम सच्याउनका निम्ति आन्दोलनको आवश्यकता रहेको नेकपा दाहाल–नेपाल समूहकी स्थायी कमिटी सदस्य पम्फा भुसालले बताउनुभयो ।
विघटित प्रतिनिधिसभाका सदस्य हरिबोल गजुरेलले जनताले आफ्नो प्रतिनिधिमार्फत बनाएको संविधानमाथि हस्तक्षेप भएको हुँदा आम जनता धर्नामा बस्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । संविधानको रक्षाका निम्ति जनता सडकमा आउने विश्वासका साथ आफूहरू धर्नामा बसेको उहाँको भनाइ छ ।
दाहाल–नेपाल समूहको नेकपाले प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनको विभिन्न कार्यक्रम गर्दै आएको छ । बुधबारदेखि सुरु भएको धर्ना कार्यक्रम शनिबार बाहेक २१ गतेसम्म प्रत्येक दिन २ घण्टा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्