
एजेन्सी । चीनको वुहान पुगेको विश्व स्वास्थ्य सङ्गठनको टोलीले क्वरेन्टिन अवधि पूरा गर्दै कोरोना भाइरसको उत्पत्तिको बारेमा ‘फिल्ड’ जाँच गर्न सुरु गरेको छ ।
डब्ल्यूएचओको वैज्ञानिकको टोलीले कोरोनाको प्रारम्भिक प्रकोपसँग जोडिएका अनुसन्धान संस्था, अस्पताल र सी–फुड बजारमा रहेका व्यक्तिसँग अन्तर्वार्ता लिनेछ । अनुसन्धानका क्रममा यो टोलीले चिनियाँ अधिकारीहरूले दिएको प्रमाणलाई आधार मान्नेछ ।
जनवरी १४ मा वुहान पुगेको १४ सदस्यीय डब्ल्यूएचओको टोली दुई हप्ता क्वारन्टिन बसेको हो । क्वारेन्टिमा रहँदा टोलीले चिनियाँ वैज्ञानिकहरूसँग भर्चुअल रूपमा कुराकानी गरेको थियो । बिहीबार टोली होटलबाट बाहिर निस्किएर बसमार्फत अनुसन्धान गर्ने ठाउँतर्फ लागेको बताइएको छ ।
यसअघि डब्ल्यूएचओले आफ्ना अनुसन्धानकर्ताहरूलाई चीन प्रवेशमा रोक लगाइएको जनाएको थियो । पछि चीनले त्यसको खण्डन गर्दै अनुमति प्रदान गर्ने जनाएको थियो । सन् २०१९ को अन्त्यतिर वुहानमा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण भेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस्