१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा, उपाधिका लागि एपीएफसँग भिड्ने


0
Shares

काठमाडौं । बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै विभागीय टीम त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

२ सय ३० रनको विजयी लक्ष्य पछ्याएको बागमती ४० ओभर १ बल खेल्दै १ सय ३५ रनमा अलआउट भएपछि आर्मी फाइनल प्रवेश गरेको हो ।

बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४७ रन बनाउँदा बिपिन आचार्यले २३ र आदिल खानले १० रन बनाए । नन्दन यादवले अविजित रहँदै २२ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बागमतीलाई सस्तैमा समेट्न आर्मीका जितेन्द्र मुखियाले ४ तथा सुसन भारी र विक्रम सोबले समान तीन–तीन विकेट लिए ।

त्यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा अलआउट हुँदा २ सय २९ रन बनायो ।

आर्मीका लागि राजेश पुलामीले अर्धशतकीय पारी खेल्दै ६५ रन बनाए । भीम सार्की ४०, विक्रम सोब ३५, लोकेश बम २३, सुसन भारी १६ र विनोद भण्डारीले १० रन जोडे ।

बलिङतर्फ बागमतीका गौतम केसीले ह्याट्रिकसहित ५ विकेट लिए । त्यस्तै, रामनरेश गिरी, नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले १–१ विकेट हात पारे ।

जितसँगै आर्मीले उपाधिका लागि शनिबार शसस्त्र प्रहरी बल (एपीएफ) सँग प्रतिस्पर्धा गर्नेछ । एपीएफले बुधबार नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।