
काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहसँग निर्वाचन आयोगले छलफल गर्दै छ ।
यसअघि अध्यक्ष वा अध्यक्षले तोकेको आधिकारिक प्रतिनिधिसहित छलफलमा आउन आयोगले दुबै समुहलाई पत्र काटेको थियो ।
छलफल आज ११ बजेबाट सुरु हुने आयोगले जनाएको छ । नेकपाका दुबै समूहबाट छलफलमा पाँच/पाँच जना पठाउन आयोगले भनेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा ओली र दाहाल–नेपाल गरी दुई वटा समूह क्रियाशील छन् ।
यी दुबै पक्षले आफूहरू नै आधिकारिक नेकपा भएको दाबी गर्दै आएका छन् । तर आयोगले दुबै समूहलाई आधिकारिकता दिएको छैन । नेकपाका दुई समूहसँग आयोगले मुख्य गरी दुइटा विषयमाथि छलफल गर्ने तयारी गरेको छ ।
निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने र आयोगले निर्वाचन सम्बन्धी हालसम्म गरेका तयारीबारे जानकारी दिने विषयमा छलफल हुने आयोगले जनाएको छ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा निर्वाचन तय गर्नुभएको छ । तर प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ ।
प्रतिक्रिया दिनुहोस्