
एजेन्सी । सामाजिक सञ्जालले अक्सर नजिकका मानिसलाई टाढा र टाढाका मानिसलाई नजिक बनाइरहेको हुन्छ । सामाजिक सञ्जालकै कारण घरपरिवारमा मनमुटाव भएको सैयौं उदाहरण त हामीले देखेकै छौं ।
सामाजिक सञ्जालमा बोल्ड तस्वीर र भिडियो राखेपछि ब्राजिलका एक युवकले आफ्नी श्रीमतीको हत्या गरेका छन् । ३५ वर्षीया एलेन फेरेरा सियोलीन सामाजिक सञ्जालमा एकदमै सक्रिय थिइन् । उनी प्रायः आफ्नो तस्वीर र भिडियो टिकटक र इंस्टाग्राममा सेयर गरिरहन्थिन् । तर, उनका श्रीमान एलेजान्द्रो एग्युलेरालाई यो कुरा मन परेको थिएन ।
एलेजान्द्रोको फेरेरासँग एउटा टिकटक भिडियोलाई लिएर लामो बहस भएको थियो । बहसकौ क्रममा एलेजान्द्रो आक्रोशमा आएर श्रीमतीलाई १४ राउण्ड गोली प्रहार गरेका थिए । श्रीमतीको हत्यापछि उनले आफ्नै टाउकोमा गोली हानेर आत्महत्या गरे । उनीहरूको ६ वर्षीया छोरी पनि छ ।
फेरेराको शरीरमा १४ वटा गोलीको दाग भेटिएको छ भने दाहिने हात भाँचिएको थियो । यस्तै उनका ४१ वर्षीय श्रीमानको टाउकोबाट एउटा गोली झिकिएको थियो । उनीहरूको छोरीको हेरचाह अहिले आफन्तले गरिरहेका छन् ।
प्रहरीले उनीहरूको नजिकका साथीहरूसँग सोधपुछ गर्दा उनीहरू बारम्बार झगडा गर्ने गरेको खुलासा भएको छ । सार्वजनिक स्थानहरूमा पनि उनीहरूबीच तनाव भइरहने एकजना नजिकका साथीले बताएका थिए । फेरेराको टिकटकमा ५८ हजारभन्दा धेरै फलोअर्स छन् ।
प्रतिक्रिया दिनुहोस्