
खिलनाथ ताजपुरिया
काठमाडौं । विभाजित नेकपाको केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहलाई पुनः एक ढिक्का बनाउन उपाध्यक्ष वामदेव गौतमले प्रयोग गर्नुभएको राष्ट्रिय एकता अभियानको अस्त्र चुनौतिपूर्ण देखिएको छ ।
एकताको ३ वर्ष पनि नपुग्दै विभाजित पार्टीका दुई समूह प्रतिसोध साँध्ने प्रतिस्पर्धामा रहँदा तटस्थ भूमिकामा रहनुभएका उपाध्यक्ष गौतम भने दुवै समूहलाई एकताको सूत्रमा बाध्ने दाबी गर्नुहुन्छ ।
भलै उहाँको अभियान सकारात्मक देखिए पनि प्रतिनिधिसभा विघटनपछि दुवै समूहका शीर्ष नेताहरुबीचको जुँगाको लडाइँ हल नहुँदासम्म एकता प्रयासको सम्भावना न्यून देख्नुहुन्छ नेता सीपी मैनाली ।
पार्टी एकतापछि सिरानीमा च्यापेर राखिएको ओली र प्रचण्डबीचको बेमेल राजनीतिक, वैचारिक तथा नीतिगत सिद्धान्त पुस ५ गतेपछि छताछुल्ल अवस्थामा छ ।
दुवै समूह एकअर्कालाई नचिन्ने स्वाङ, व्यक्तिगत गालीगलौजमा उत्रिएका छन् भने संघ तथा प्रदेशका नेता तथा सांसद तान्ने होडबाजीमा जुटेका छन् । प्रतिनिधिसभा पुनःस्थापनाको मागमा दाहाल–नेपाल समूहले विरोधसभामार्फत शक्ति प्रर्दशन गर्दा त्यसको प्रतिवादमा ओली समूह पनि सडकमै ओर्लिएको छ ।
तर, अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको खण्डमा भने गौतमलाई एकता अभियानको एजेन्डा अगाडि बढाउन मद्दत पुग्ने देखिन्छ ।
नेकपाको दुवै समूह अहिले देश दौडाहामा छ । ठाउँ–ठाउँमा आमसभा गर्दै उनीहरूले आफू ठीक र अर्को पक्ष खराब भनेर स्थापित गर्ने कोशिस गर्दैछन् । जहाँ जाँदा पनि पार्टी नफुटेको केही व्यक्ति चोइटिएको भन्ने नेताहरू तत्काल मिल्छन् भनेर विश्वास गर्ने आधार देखिँदैन ।
दुवै समूहको विवादलाई हल गरी एक बनाउने प्रयासमा छिमेकी राष्ट्रसमेत असफल भएको अवस्थामा उपाध्यक्ष गौतमको सूत्रले कत्तिको काम गर्छ त्यो भने हेर्न बाँकी नै छ ।
प्रतिक्रिया दिनुहोस्