
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसका भ्रातृसंस्थाहरूले सोमबार देशभर विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनलाई सम्बोधन गर्दै नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाह बन्न जनतालाई झुक्याएर प्रतिनिधिसभा भङ्ग गरेको आरोप लगाएका छन् ।
तनहुँमा आयोजित विरोध सभामा वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीको असंवैधानिक कदम सच्याउन कांग्रेसले नेतृत्व लिनु पर्ने बताउनुभयो ।
काठमाडौंमा आयोजित विरोध सभामा नेता प्रकाशमान सिंहले जनताले सडकबाट दबाव दिएर ज्ञानेन्द्रले जस्तै बालुवाटार छोड्नुपर्दा ओलीको होस खुल्ने बताउनुभयो । ओली सरकारले हुँदै नभएको अधिकार दुरूपयोग गरेर, जनभावनाविपरित संविधान कुल्चेर संसद विघटन गरेको नेता सिंहको आरोप छ ।
संविधान मिचेर अन्तर्राष्ट्रिय अभ्यासको पाठ सिकाउँदै हिड्ने ओलीले जनता छक्याउन निर्वाचनको बहाना रचेको बताउँदै उहाँले तानाशाह बन्नका लागि प्रतिनिधिसभा भङ्ग गरिएको तर्क गर्नुभयो । राजाको पालामा शाही आयोगलाई असंवैधानिक ठहर गरेको सर्वोच्च अदालतले ओलीको कदमलाई पनि सच्याउने नेता सिंहको विश्वास छ ।
कांग्रेसले यसअघि वडा तहसम्मै विरोध प्रदर्शनका कार्यक्रम गरिसकेको छ । आगामी २४ गते पार्टीको शुभेच्छुक संस्था र फागुन ३ गते देशभर जिल्ला कार्यसमितिले विरोध प्रदर्शन गर्ने कांग्रेसको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्