
काठमाडौं । सहज ढंगले व्यवसाय गर्ने वातावरण बनाइदिन माग गर्दै कारोना महामारीबाट पीडित विभिन्न पेशा तथा व्यवसायीहरू संघर्षमा उत्रिएका छन् । मंगलबार बालुवाटारमा सडक प्रदर्शन गर्दै कोरोना महामारी पीडित विभिन्न पेशा तथा व्यवसायीहरू संगठित रूपमा संघर्षमा उत्रिएका हुन् ।
लकडाउनका कारण ग्यारेजमा थन्किएका सवारी साधनको जाँचपासमा २६ सय प्रतिशतसम्म जरिवाना गरिएको, प्रक्रिया पूरा गरेर पनि पर्यटकलाई अन एराइभल भिसा नखोलेको तथा निम्न मध्यम र मध्यम वर्गका व्यवसायीले पुनर्कर्जा र व्यवसाय निरन्तरताका लागि सहुलियत कर्जा नपाएको भन्दै व्यवसायीहरू आन्दोलित भएका हुन् ।
मौद्रिक नीतिमा साना व्यवसायीलाई नसमेटिएको तथा बैंकको अन्याय अत्याचार बढेका कारण आन्दोलनमा आउनुपरेको नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष रामहरी शर्माले बताउनुभयो ।
मौद्रिक नीति सबैमा समान प्रकारले लागु गर्नुपर्ने, अनावश्यक सरकारी कर र जरिवानाको अन्त्य गरी व्यवसायीलाई काम गरेर खाने वातावरण बनाइदिन माग गरिएको छ । मंगलबार र बुधबार शान्तिपूर्ण धर्ना गर्ने र माग पुरा नभए कडा रूपको आन्दोलनको कार्यक्रम घोषणा गर्ने व्यवसायीले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्