६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


संवैधानिक आयोगहरुमा ‘बलजफ्ती’ नियुक्तिको तयारी, राष्ट्रपतिबाट आजै नियुक्ति र शपथ गराउने


0
Shares

काठमाडौं । सरकारले संवैधानिक आयोगहरुलाई पूर्णता दिने संकेत गरेको छ । संवैधानिक परिषद्ले गरेको विवादास्पद सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न संवैधानिक निकायहरुमा नियुक्ति गर्ने संभावना छ ।

आज सबैजनालाई नियुक्त गर्ने र आजै शपथ गराउने तयारी भईरहेको स्रोत बताउँछ । कानुनतः उनीहरूको नियुक्तिपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शपथ खुवाउनुपर्नेछ ।

संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत ११ संवैधानिक निकायमा ४५ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो ।

तर अध्यादेशअनुसार बसेको संवैधानिक परिषद्को बैठकले गरेका सिफारिस अवैधानिक रहेको दावीसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । ती रिट निवेदनहरुमाथि सुनुवाई हुन सकेको छैन ।

३० मंसिरमा बसेको संवैधानिक परिषद् बैठकले संवैधानिक आयोगमा रिक्त रहेको ४५ जना पदाधिकारी तथा सदस्यहरू नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

सो निर्णय संवैधानिक परिषद्ले ५ पुसमा संसद् सचिवालयमा पठाएको थियो । सिफारिस भएकाको ४५ दिनभित्र निर्णय दिन नसके स्वतः नियुक्ति हुने प्रावधान रहेको छ ।

५ पुसमा संसदीय सचिवालयमा पुगेको सो पत्र २० माघमा परिपक्व भएको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ ।