१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संविधान मिचेर गरिएको नियुक्ति र सपथ असंवैधानिकः प्रकाशमान सिंह


0
Shares

काठमाडौं । नेपाली काँगेसका नेता प्रकाशमान सिंहले संवैधानिक परिषदहरुमा गरिएको नियुक्ति असंवैधानिक भएको बताउनु भएको छ । संवैधानिक परिषदको अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी ओलीसहितको कोरम नपुगेको बैठकले गरेको सिफारिस नै असंवैधानिक भएको उहाँको दावी छ ।

संवैधानिक परिषदका अध्यक्ष तथा सदस्य नियुक्ति गर्दा सभामुख अग्नि सापकोटा तथा विपक्षी दलका नेता शेर बहादुर देउवासमेत सहभागी हुनुभएको थिएन । संसदीय सुनुवाइ समिति नै नभएका बेला संविधानको खिल्ली उडाउँदै गरेको नियुक्तिले प्रधानमन्त्रीमा अन्तरनिहित म नै संविधान हूँ भन्ने दम्भ उजागर भएको उहाँको आरोप छ ।

‘संविधानलाई मिचेर अघि बढ्ने सरकारको अधिनायकवादी आकांक्षाको जति निन्दा गरे पनि कम हुने भन्दै उहाँले, लामो संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धिहरु सरकार र सरकारमा रहनेहरूको असंवैधानिक कार्य र मनपरितन्त्रका कारण संकटमा परेको बताउनुभयो ।’ ‘अब पनि सचेत नहुने हो भने देश गम्भीर संवैधानिक र राजनीतिक दुर्घटनामा पर्ने निश्चित छ’, उहाँले भन्नुभयो ।

सिंहले सरकारले संविधान मिचेर गरिरहेको असंवैधानिक सिफारिस, नियुक्ति, विचौलियाहरूलाई नियम मिचेर दिइएका ठेक्कापट्टा र राज्यस्रोतको दोहनले सीमा नाघिसकेको बताउनु भयो ।

आज सामाजिक सञ्जालमा लेख्दै सिंहले अनावश्यक नियुक्ति र राज्यस्रोतको दुरूपयोग गर्दै ज्ञानेन्द्र शैलीमा गरिएका सभासम्मेलन देशलाई अस्थिरतातर्फ धकेल्न उद्दत रहेको आरोप लगाउनु भयो ।