१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जनमुक्ति सेनालाई पार्टीमा समायोजन गर्दै कमिटी बनाउने अध्यक्ष दाहालको उद्घोष


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व जनमुक्ति सेनाहरूलाई पार्टीमा समायोजन गर्नेगरी विशेष प्रदेश कमिटी बनाउने बताउनुभएको छ ।

बुधबार बर्हिगमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले बर्हिगमित तथा स्वेच्छिक अवकासमा परेका पूर्व जनमुक्ति सेनाहरूलाई पार्टीमा समायोजन गर्ने बताउनुभएको हो । उहाँले जनमुक्ति सेनाका सबै तहका कमाण्डरलाई पार्टीमा सम्मानजनक रूपमा समायोजन गर्ने नीतिगत निर्णय आफूले गरेको बताउनुभयो ।

अध्यक्ष दाहालले जिम्मेवारी दिइए पनि तल्लो तहसम्म उचित जिम्मेवारी पाए नपाएको फलोअप नगरेर गल्ती गरिएको भन्दै आत्मआलोचना समेत गर्नुभयो । उहाँले जनमुक्ति सेनाको सम्मानमा जनयुद्दका कमाण्डरहरूलाई उपराष्ट्रपति, सभामुख तथा मन्त्री बनाएको पनि स्मरण गराउनुभयो ।

अध्यक्ष दाहालले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा जनयुद्धमा ज्यान गुमाउनेलाई राष्ट्रिय सहिद घोषणा गर्ने र जनमुक्ति सेनालाई परिचयपत्र साथ सम्मान गर्ने पहिलो निर्णय गरिएको भए पनि उक्त निर्णय लुकाइएको बताउनुृभयो ।

अध्यक्ष दाहालले जनयुद्धको घाइतेहरूलाई उपचार खर्च बढाउन, जनजिविकाका लागि राहत दिलाउन सरकारसँग पटक–पटक आग्रह गरे पनि अस्वीकार गरेको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले जनमुक्ति सेनालाई खरिद गर्न खोजेको भन्दै उहाँले भ्रममा नपर्न आग्रह गर्नुभयो ।

अध्यक्ष प्रचण्डले सबै बर्हिगमित जनमुक्ति सेनालाई एकैठाउँमा ल्याउनुपर्ने धारणा राख्नुभयो । केही महिनाभित्रै प्रतिगमनविरुद्दको आन्दोलन जित्ने र जितपछि जनमुक्ति सेनाको भावना र आवश्यकता पुरा गर्ने भएकाले नआत्तिन आग्रह समेत गर्नुभयो ।