१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेता जति गाडीमा सरर, गरीबको ट्याक्सी/एम्बुलेन्स आगोमै हरर !


39
Shares

काठमाडौं, माघ २२ । सत्ता र कुर्सी प्राप्तिको चरम किचलोपछि पार्टी विभाजनमा पुगेको नेकपा दाहाल समूहले विहीबार देशव्यापी आमहडताल गर्‍यो ।

उक्त समूहले देशैभर जनताको स्वस्फूर्त समर्थनभन्दा पनि जोरजबरजस्ती, धरपकड, आगजनी, तोडफोड, धम्कीमार्फत् जनजीवन अस्तव्यस्त बनाउन सफल भयो । जनताको अपार समर्थनमा आमहड्ताल सफल भएको दाबी हरेकजसो बन्दकर्ता र धम्कीकर्ताहरूले गरेझै यो समूहले पनि पक्कै पनि गर्ने नै छ ।

दशक लामो माओवादी सशस्त्र हिंसा, त्यसले उत्पन्न गरेको प्रतिहिंसाबाट प्रताडित भएका नेपालीले, मुलुक बल्ल स्थिरताको बाटोमा गयो होला भन्ने सोचेके बेला, सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी ओली, पुष्पकमल दाहाल र माधव नेपालको कुर्सीका लागि भएको निकृष्ट झगडाले मुलुकलाई फेरि बर्बादीको गर्तमा धकेलेको छ ।

काठमाडौंको गोंगबुमा बन्दका कारण सडकमा ह्विलचियर गुडाएर गन्तव्यतर्फ लाग्दै विशेष क्षमता भएका व्यक्ति ।

पार्टीभित्रको कुर्सी झगडाका कारण प्रतिनिधि सभा नै विघटन गरेर प्रधानमन्त्री केपी ओली सडकमा दन्केको आगो तापिरहनुभएको छ । अर्कातिर बन्द–हड्ताल कुनै पनि समस्याको समाधान होइन भन्ने जान्दाजान्दै दाहाल–नेपाल समूह गरिखाने वर्गमाथि हिंसा थोपर्दै हुनुहुन्छ । दुबैको शैली घर पोलेर खरानीको व्यापार गर्ने जस्तो देखिएको छ ।

अर्कातिर बिहीबारको बन्दका क्रममा लाजैलाग्दा दृष्यहरू देखिए । एकाबिहानै काठमाडौंको गोंगबुमा ट्याक्सी जलाएर शुरु गरेको बन्द मध्य दिन पुग्दा विरामी बोकेको एम्बुलेन्ससम्म तोडफोड गरिए । सर्वसाधारणका स्कुटर र मोटरसाइकल त बन्दकर्ताको दाउराझै थियो । जहाँ मन लाग्छ, त्यही आगोमा झोसिदिन्थे ।

गोंगवुमा एकाबिहानै आगजनी गरिएको ट्याक्सी

अनेकन विमारीबाट प्रताडित भएका भुइँमान्छेहरू नवधनाढ्य बनेका दलका नेताहरूले खटाएका तिनका अरौटे कार्यकर्ताबाट पीडित बनाइए । अस्पताल जानसम्म पाएनन् । विमानस्थल पुग्नुपर्ने र फर्कनेहरूको बिचल्ली भयो ।

साना नानीहरू लिएर गन्तव्यमा पुग्नुपर्नेहरूको चिल्लीबिल्ली भयो । तर त्यही बीचमा बन्दकर्ता आयोजकहरूका रंगीबिरंगी चित्रहरू देखिन थाले ।

विहानै मर्निङ वाकमा निस्केका नेताहरू सडक बन्दमा खटिएका थिए । आयोजक दलका अध्यक्ष पुष्पकमल दाहाल आफ्ना दलबलसहित एकाबिहानै दालमोठ चिउरा र पानी अगाडी राखेर सर्वहारावादी नेताको शैलीमा तस्वीर खिचाउँदै हुनुहुन्थ्यो ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल पुल्चोकबाट जावलाखेल जानका लागि गाडी चढ्ने क्रममा

जबजब दिन छिप्पिँदै गयो, अरुका गाडी आगोमा झोस्न कार्यकर्तालाई उत्प्रेरित गर्ने नेताहरू आफूचाहिँ कोही गाडीमा त कोही स्कुटरमा हुइँकिएको देखियो । अध्यक्ष पुष्पकमल दाहाल आमहड्तालको अनुगमन गर्न भन्दै गाडीमा हुइँकिँदा अर्का अध्यक्ष माधव नेपाल स्कुटरमा बत्तिँदै हुनुहुन्थ्यो ।

बन्द आह्वान गरेको नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाल स्कुटरमा हुइकिँदै ।

जनताको दुहाई दिएर गरिएका बन्दका आयोजकहरूका लीला देखिरहँदा अर्कातिर सडकमा उत्रिएका सुरक्षाकर्मीहरू सर्वसाधारण जनताका लागि सहजीकरणभन्दा बन्दकर्तालाई नै सघाउन उद्दत जस्ता देखिन्थे । कतिपय स्थानमा सुरक्षाकर्मीले नै आवतजावतमा रोक लगाएका थिए ।

काठमाडौंसहित केही जिल्लामा भने आयोजक पक्षका केही नेता–कार्यकर्ता पनि पक्राउ पर्नुका साथै प्रहरीसँगको झडपमा परेको समेत देखियो ।